‘च च हुई’ को निकै कमजोर सुरुआत

विराटनगर, ९ मंसिर । गत शुक्रबार प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘च च हुई’ले सोचे जस्तो ओपनिङ्ग गर्न पाएन । फिल्मको प्रदर्शन अगावै खासै राम्रो हाइप निर्माण गर्न नसकेको फिल्मले हलमा दर्शक राम्रो तान्ने अपेक्षा राखे पनि बक्सअफिसमा फिल्म निकै कमजोर सुरुआत गरेको छ ।

शुक्रबार बिहान दर्शक नभएर शोहरू रद्द नै गर्नु परेको थियो । चिसो मौसमका कारण दर्शकको उपस्थिति नभएकाले शुक्रबारको बिहानी शो रद्द भएको भए पनि शनिबारबाट भने फिल्मले अलिकति गति लिएको फिल्मका वितरक करण श्रेष्ठले बताएका छन् । फिल्मले अपेक्षाकृत ओपनिङ गर्न नसकेको कुरालाई नकार्न सकिँदैन ।

शुक्रबार हलमा दर्शकको उपस्थिति खासै राम्रो नभए पनि शनिबार ११ बजेबाट फिल्मले आफ्नो गति लिएको र मल्टीप्लेक्स र सिंगल स्क्रिन सबैतिर फिल्म हाउसफुल रहेको उनले थपे । आइतबार पनि फिल्म हेर्ने दर्शक राम्रो रहेको पनि उनले बताए । फिल्म हेर्नेले मेकिङको र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् र फिल्मको वर्ड अफ माउथ’ बलियो भएका कारण ‘च च हुई’ बक्सअफिसमा चल्ने उनको विश्वास छ ।

तर, कथा र पटकथा कमजोर हुँदा दर्शकलाई फिल्म झेल्न सकस परेको देख्दा २ करोडको लगानीमा बनेको फिल्मले आफ्नो लगानी सुरक्षित गर्न गाह्रो देखिएको छ । ‘च च हुईं’मा आर्यनले विदेशबाट देश राष्ट्रियता सम्झेर देश फर्किने युवाको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा आर्यनका र मिरुनाका साथ माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ल लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा रहेर अमृत घोले लामाले निर्माण गरेका हुन् ।

Loading...