fbpx

आँखामा पनि ट्याँटू ! (भिडियोसहित)

विराटनगर, ९ मंसिर । अचेल युवापुस्तामा शरीरका विभिन्न अंगमा आफूले मनपरेको कुरा वा स्मरणको लागि ट्याँटू खोपाउने फेसन चलिआएको छ । शरीरका देखिने तथा नदेखिने अंग वरिपरिसमेत ट्याँटू खोप्ने चलन बढेको हो ।

बनाउँदा दुख्नुका साथै निकै पैसासमेत खर्च हुने ट्याँटूले युवाहरूमा क्रेज बनाएको छ । कतिपय मानिसहरूले आफूलाई अलग देखाउनका लागि शरीरभरि छोपिने ट्याँटूसमेत बनाउने गरेका हुन्छन् । तर, अष्ट्रेलियाकी २४ वर्षीया महिला एमबर ल्यूकले आफ्नो आँखामा ट्याँटू बनाएकी छन् ।

उनले १६ वर्षको उमेरदेखि नै शरीरका विभिन्न अंगहरूमा ट्याँटू बनाउन थालेकी हुन् । दि ब्लू आई ह्वाईट ड्रेगन भनेर आफूले सम्बोधित गर्ने २४ वर्षीया महिला एम्बरले आँखामा ट्याँटू बनाउँदा उनलाई केही हप्तासम्म आँखामा अत्यधिक दुख्ने तथा आँखा देख्नसमेत गाह्रो भएको बताएकी छन् ।

उनले आफ्नो आँखाको सेतो भागलाई निलो रङले ढाकेकी छन् । उनको आँखामा ट्याँटू बनाउँदा करिब ४० मिनेट लागेको र बनाउने बेलामा उनको प्रत्येक आँखामा चारबटा सुई घोपेको थियो । ट्याँटू बनाइरहेको समय उनलाई अत्याधिक गाह्रो भएको जनाएकी छन् । ट्याँटू बनाउने मसी आँखामा राख्दा निकै पोल्ने भएको कारण एम्बर तीन हप्तासम्म आँखा नदेख्नेसमेत भएकी थिइन् ।

ट्याँटू बनाउने सबै प्रक्रिया मिलेमा अन्धोपन नहुने समेत उनले दाबी गरेकी छन् । एम्बरले आफ्नो शरीरमा विभिन्न प्रकारका करिब २०० वटा ट्याँटू बनाएकी छन् । उनले आफ्नो शरीरमा ट्याँटू बनाउन करिब ३७ हजार डलर खर्च गरिसकेकी छन् । उनले मार्च २०२० सम्ममा आफ्नो पूरै शरीरलाई ट्याटुले ढाक्ने बताएकी छन् ।

Loading...