fbpx

समुन्द्री किनाराको अभिषप्त जीवन

कोलम्बोको एउटा समुन्द्री किनारामा
बिहानीको हिँडाइ हिँड्दै गर्दा
पानीका सेता छालहरू
एकपछि अर्को गर्दै किनारामा ठोकिँदै थिए ।
एकखाले रोमाञ्चक आवाज निकाल्दै
अनन्त गहिराइयुक्त समुन्द्रको निलो रङलाई सेताम्य पारेर
छालहरू ठोकिँदै थिए र हराउँदै थिए
सायद किनाराको जीवन हो यो ।
मैले किनारबाट पर समुन्द्रतिर नियालेँ
त्यो शान्त थियो र निलो रङमा रंगिएको थियो
त्यहाँ कुनै तरङ्ग थिएनन्
बुद्धको सम्यक शान्त आँखाझै त्यो अविचलित थियो ।
माथि आकाशतिर हेरेँ
अनन्त निलो आकाश बिलकुल शान्त थियो
अनन्त गहिराइ बोकेका यी दुवै
आ–आफ्नो गिहराइमा निशब्द हराएका थिए ।
तुलना गरेर हेरेँ
आकास र समुन्द्र अनन्त गहिराइमा
लाखौँ तारामण्डल र भिम्काए चलचरहरू समेटेर
एकै रङमा शान्तीका साथ समय बिताइरहेका छन् ।
अनि सतही किनाराका छालहरू र बादलहरू
चञ्चल छन्, रङ बदलिरहेका छन् र कराइरहेका छन्
सायद आफ्नोपन बिर्सेर समयअनुसार रङ्ग बदलेर बाँचेका मानिसहरूजस्तै
किनाराको जीवन बाँच्न अभिषप्त छन् यिनीहरू पनि ।।

श्रीलंका बसाइँको अन्तिम हप्ता बिताउँदैछु । धेरै देशका समुन्द्री किनाराहरू हेरेको अनि छोएको छु मैले । तर, आज बिहानको मेरो किनारासँगको जम्काभेट आफैँमा बेग्लै थियो । बिहानीको समय वातावरण शान्त थियो ‘गल्ले फेस बिच’का समुन्द्री छालहरू मधुर ध्वनिसहित किनारामा ठोकिँदै छरपष्ट भइरहेका थिए । किनारामा आएर ठोकिनुअगाडि उनीहरूको रङ बदलिरहेको थियो, ब्यवहार बदलिरहेको थियो र आवाज बदलिरहेको थियो । मलाई अरुबेला समुन्द्रका किनारामा पुगेभन्दा अलगै महसूस भइरहेको थियो । सायद आज एक्लै भएर होला नत्र म प्रायः आफन्तहरू वा साथीहरूसँग यस्ता किनाराहरू पुगेको छु ।

writter
डा. राजेन्द्र उप्रेती, कोलम्बो

कोलम्बोको यो समुन्द्री किनारा अरु धेरै देशहरूका समुन्द्री किनाराहरूभन्दा अलि भिन्न छ । केही अग्लो पर्खालले जमिन र समुन्द्रलाई छुट्याएको छ । मलाई त्यो किनाराको छालहरूको जीवनसँग मौन वार्ता गर्न मन लाग्यो । बिहानको हिँडाइले पसिना आउँदै थियो । किनाराको एउटा ढुंगामा थुपुक्क बसेर म समुन्द्र नियाल्न थालेँ । किनाराको नजिकैबाट निस्केका लहरहरू सेता छालहरू बन्दै लगातार किनारातर्फ आउँदै थिए र किनारामा ठोकिएर समाप्त हुँदै थिएँ । सायद उनीहरूको जीवन किनारामा आएर समाप्त हुनुमानै सीमित छ । मैले टाढा समुन्द्रको अनन्ततालाई नियाली हेरेँ न त्यहाँ लहरहरू थिए न छालहरू । त्यहाँको पानी निलो थियो अनि त्यो शान्त र निशब्द थियो । आज आकाश पनि सफा थियो । त्यो सारा तारामण्डल आफैँमा समेटेको अनन्त निलो आकाश पनि शान्त र निशब्द थियो ।

यी दुवै समुन्द्र र आकाश आफ्नै रङमा आफ्नै विशालता समेटेर शान्त र निशब्द समय ब्यथित गरिरहेका बेला मेरो छेउमा उर्लिरहेका सेता छालहरूले मलाई सोच्न बाध्य बनायो । यस्तो किन भएको होला ? किनाराका छेउछाउमा बनेका चञ्चल अनि सेता छालहरू किन किनारामा आएर समाप्त भइरहेका होलान् ? अनि आफ्नै रङ र आफ्नोपनमा शान्त बसेका आकाश र समुन्द्र किन सधैं उस्तै होलान् ? मैले उनीहरूको गहिराइ तुलना गरेर हेरेँ । जबजब समुन्द्रको गहिराइ बढ्दै जान्छ तबतब समुन्द्र शान्त हुँदै जानेरहेछ । न उसलाई ठूलाठूला पानीजहाजहरूले न त यसलाई भिमकाय ह्वेल वा अरु जलचरहरूले खलबल्याउन सक्दा रहेछन् । न उसको रङ बदलिने रहेछ न त आवाज । त्यहीँ पानी र त्यहीँ समुन्द्र जतिजति किनारातिर आउन थाल्छ, जब ऊ कम गहिराइ भएको वा सतही हुँदै जान्छ, अनि सानातिना हावाले पनि सानातिना ठोक्करले पनि ऊ तरङ्गित हुनेरहेछ । कतै केही भइ पो हाल्छ कि भनेर रङ बदल्दो रहेछ, किनारातिर हेरेर आशाले कराउँदो रहेछ । तर, सब ब्यर्थ किनकी उसको अन्त्य आइसकेको हुने रहेछ । आकाशको तल्लो तहमा भएको बादलको नियती पनि त त्यही हो । जब विभिन्न रङहरू बदल्दै बादल गडगडाउन थाल्छ अनि बर्सिएर उसको त्यो जुनी समाप्त हुन्छ ।

afs
गल्ले फेस बिच, कोलम्बो, श्रीलंका

मैले यो किनाराको चञ्चल अनि रङ बदलेर बाँच्न कोशिश गरिरहेको अभिषप्त जीवनलाई हामी मानिसको जीवनसँग दाँजी हेरेँ । हाम्रो जीवन पनि ठ्याक्कै त्यस्तै छैन र ? सतही सोच राखेर छेपारोजस्तै मौसमी रङ बदलेर आ–आफ्ना मालिक रिझाएर मौकामा चौका हान्न उद्यत धेरै मानिसहरू समुन्द्री किनाराका छालहरूजस्तै जिउँदो मृत्यु बाँच्न अभिषप्त छैनन् र ? यिनीहरूका बदलिरहने रङहरू यिनीहरूले गाउने स्तुतिका कर्कस गीतहरू क्षणिक छैनन् र ? यस्तो जीवन बाँचिरहेका आडम्बरीहरू हरेक क्षण जिउँदो मृत्युवरण गरिरहेका छैनन् र ? मेरो सानो बुझाइमा संसारमा सत्य भनेको मृत्यु मात्र हो र यो निश्चित छ अनि एक पटक निश्चित समयमा आउँछ । यो जान्दा–जान्दै किन मानिसहरू क्षणिक आडम्बरी जिवन बाँच्नका लागि हरेकपल समुन्द्री छालहरूजस्तै जिउँदो मृत्युवरण गरेर बाँच्न लालायित छन् ? समुन्द्री छाल नियाल्दा दिएको यो प्रश्नले मलाई आजको समुन्द्री किनारासँगको मौन संवादले बेग्लै अनुभूति दियो । जीवन खोज्नका लागि नयाँ विषय दियो । मलाईजस्तै अरु धेरैलाई यस्ता प्रश्नहरुले झकझकाउन सकोस् र आफ्नो मौलिकता बचाएर स्वभाविक र स्वाभिमानी जीवन बाँच्न प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ मेरो अनुभव लेख्ने कोशिश गरेँ । सबैको आजको दिन खुशी र उत्साहका साथ बितोस् । शुभकामना ।

 

Loading...