fbpx

डिप्रेसन एक मानसिक रोग : देखिन्छन् यस्ता लक्षणहरू

विराटनगर, ६ मंसिर । मन उदास हुनु, दःखी भइरहनुलाई मात्र डिप्रेसन भनिँदैन । त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले डिप्रेसनलाई एक मानसिक रोग हो भनेर बताएका छन् ।

डिप्रेसनले सोचाई, भावना तथा व्यवहारमा असर गर्ने गर्छ । अहिलेको प्रमुख रोगहरूमध्ये डिप्रेसन व्यस्त जीवनशैलीबाहेक ब्रेकअप, सम्बन्ध विच्छेद, एक्लोपन, विभिन्न कुराको तनाव, जागिर जाने डर जस्ता अनेक कारणले हुने गर्छ । नेपालमा मात्र करिब ८ लाख नेपालीमा डिप्रेसनको समस्या रहेको पाइएको छ । डिप्रेसन भएको समयमै पहिचान र उपचार भएन भने डिप्रेसनको रोगीले आफू तथा अरुलाई चोट पुर्याउनुका साथै आत्महत्या समेत गर्छन् ।

जो कोही व्यक्तिलाई पनि लाग्न सक्ने यो रोग नेपालमा भने पुरुषभन्दा महिलामा बढी देखिएको छ । डिप्रेसन हुँदा मन उदास हुने, दिक्क लाग्ने, कमजोरी वा थकावट महसुस हुने, खान मन नलाग्ने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी आउने, नैराश्यता छाउने, खुसी हुन नसक्ने, निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी आउने, टाउको, पेट, छाती वा हातखुट्टा दुख्ने, अपच हुने, महिलाहरूमा महिनावारी अनियमित हुने जस्ता लक्षणहरू देखा पर्न थाल्छन् ।

धेरै कडा डिप्रेसन भएको अवस्थामा हलचल नगरी बसी रहने, खाना खाँदै नखाने वा बोल्दै नबोल्ने पनि हुन सक्छ । यस्ता मानिसहरू आफ्नो दुखबाट भाग्नका लागि सुतेर दिन बिताउन खोज्छन् । डिप्रेसन रोगलाई निको पार्नका लागि समयमै रोग पहिचान गरी चिकित्सकबाट सल्लाह लिएर औषधि सेवन गरी ध्यानहरूसमेत गर्नुपर्ने हुन्छ । डिप्रेसन एउटा मानसिक रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर परिवार तथा समाजलाई समेत असर पु¥याउन सक्छ ।

जीवनमा आउने तनावलाई सकारात्मक रूपमा लिएर पर्याप्त आराम र खानपानमा ध्यान दिएर आफूलाई आइपर्ने समस्यामा चिन्ता लिएर बस्नुभन्दा पनि समस्यालाई कसरी सामाधान गर्न सकिन्छ भन्ने सोच राख्नु पर्छ । साथै आफूलाई मन पर्ने काम गरेर, साथीभाई भेट्ने, रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, योग गर्ने, ध्यान गर्ने तथा सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।

Loading...