fbpx

हाडजोर्नीको उपचार नेपालमै सस्तो

स्कुल ब्यागका कारण विद्यार्थीमा हाडजाेर्नीकाे समस्या :– डा अजय महतो, हाडजोर्नी राेग विशेषज्ञ (अर्थोपेडिक्स)

बुढ्यौली उमेरमा मात्र देखापर्ने भनिने हाडजोर्नी रोग आजकल हरेक उमेर समूहका मानिसहरूलाई हुने गरेको पाइन्छ । बालबालिका, युवा, प्रौढ र बृद्धबृद्धाहरूमा हाडजोर्नी समस्या झन्–झन् बढदै गइरकेको छ । दुर्घटनाबाट हुने हाडजोर्नीको क्षतिको अवस्था झन् उस्तै छ ।

अहिलेको बढ्दो हाडजोर्नी समस्या र उपचार बारेमा डा अजय महतो (अर्थोपेडिक्स) मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा कार्यरत हाडजोर्नी राेग विशेषज्ञ हुन् । उनी नेपालमा बढ्दो हाडजोर्नी रोग र समाधानबारे कोशी अनलाइनमार्फत यसरी जानकारी दिन्छन्…

हाडजोर्नीको समस्या लिएर खासगरी कुन उमेर समूहका बिरामीहरू आउने गर्छन् ?

सबै उमेर समूहका बिरामीहरूलाई केही न केही रोग भइरहेको हुन्छ । कुनै–कुनै रोग एउटा उमेर समूहमा एकदम धेरै हुन्छ भने अर्को उमेरमा एकदम कम भइरहेको हुन्छ । तर, प्रायजसो आउने भनेको महिलाहरू आउने गर्छन् र, धेरैजसो लगभग ३० वर्षको उमेरदेखि लिएर ५५–६० सम्मको पुग्छन् । अरु दुर्घटनामा परेर हड्डी भाँचिएका, लडेर, मर्किएर आउने गर्छन् ।

बिरामीहरू हात, खुट्टा तथा ढाड दुख्नेबित्तिकै आउँछन् की रोग गम्भीर भएपछि मात्र आउछन् ?

रोग गम्भीर भएपछि मात्र आउने गरेको पाइन्छ । घर गृहणीहरूमा धेरैजसो देखिने भनेको ढाडको र घुँडाको दुखाइ हो । यो समस्या उनीहरूलाई ३०–३५ को उमेरमा देखा पर्न सुरु भइसकेको हुन्छ । महिनावारी सुक्ने समय भएको कारण, घरमा धेरै काम तथा जीवनशैलीमा गरेको लापरवाहीका कारण पुरुषहरूको तुलनामा महिलाहरू धेरै आउने गर्छन् ।

बच्चाहरूमा पनि आजकल एकदम ढाड दुखाइको समस्या आउन थालेको छ । यसको कारण र ध्यान दिनुपर्ने कुरा के हुन सक्छन् ?

विद्यार्थीहरूमा स्कुलब्याग भारी भएको कारण, धेरै मोबाइल तथा यस्तै उपकरणहरू चलाएका कारण ढाड भन्दा पनि घाटीको समस्या लिएर आउने गर्छन् । आजकल सानै उमेरदेखि मोबाइलप्रतिको आकर्षण, घण्टौं गेमहरू खेल्ने कारणले घाँटी दुख्ने, ढाड दुख्ने, आँखामा एकदम स्ट्रेसहरू पर्ने, यस्तो समस्या एकदम बढेको छ ।

यसको लागि भने बच्चाको आमाबुवा तथा परिवारका मानिसहरूलाई बच्चालाई जतिसक्दो कम मोबाइल चलाउन सल्लाह–सुझाव दिने गर्छौं । समयमा ध्यान नपु¥याएको खण्डमा यो सानो मानिने रोग निकै गम्भीरसमेत हुन सक्छ । लामो समयको दुखाइले पछि गएर हड्डीहरू खिइने, हड्डीको आकार बिग्रने प्रक्रियालाई समयभन्दा चाँडै गराउन थाल्छ ।

हड्डी खिइने समस्या चाहिँ कुन उमेरदेखि सुरु हुने गर्छ ?

सामान्य स्वास्थ्य मानिसमा हड्डी खिइने ५५–६० वर्षको उमेरमा मात्र सुरु हुने गर्छ । तर, दैनिक जीवनशैलीमा गरिरहेको लापरवाहीका कारण, आफूलाई स्वास्थ्य राख्नका लागि गरिने कुराहरूले निकै फरक पारिरहेको हुन्छ । जस्तै, महिलाहरूले घरमा काम गर्दाखेरी निहुँरेर घर सफा गर्ने, कपडा धुने जस्ता कामहरू गर्दाखेरी उनीहरूको ढाडमा स्ट्रेस पर्न जान्छ । त्यस्तै, पलेँटी कसेर बस्दा घुँडामा स्ट्रेस पर्छ, धेरै बेरसम्म उभिँदा कुर्कुच्चाहरू दुख्ने, पोल्ने, गाह्रो हुने गर्छ । यस्ता रोगहरू सामान्य हुन् र आफ्नो जीवनशैलीलाई राम्रो ढंगमा परिवर्तन गर्दा यस्तो समस्याहरू निम्तिने गर्दैनन् ।

बुढेसकालमा हुने हड्डीको मुख्य समस्या के हुन्, रोकथाम कसरी गर्ने ?

बुढेसकालमा हुने मुख्य समस्या भनेको अस्तोपोरेसिस (हड्डी खिइने समस्या), जुन अधिकांश मानिसहरूलाई यसबारेमा थाहा नहुन सक्छ । बुढेसकालमा हड्डी एकदम कम्जोर हुने गर्छ, खासगरी महिलाहरूमा ५० देखि ५५ वर्ष उमेरमा महिनावारी रोकिने समयमा शरीरमा हर्मोन उत्पादन हुन बन्द हुन्छ । जसले हाम्रो ढाडको र घुडाको हड्डी एकदम कमजोर हुन जान्छ र फ्राक्चरको समस्या हुन सक्छ ।

५०–५५ को उमेरमा लड्दा हातमा फ्राक्चर हुने सम्भावना एकदम धेरै हुन्छ । एकपटक फ्राक्चर भएपछि उक्त मानिसलाई फेरि एक पटक फ्राक्चर हुने सम्भावना ६ गुणा धेरै हुने गर्छ । सामान्य फ्राक्चर हुँदासमेत नसामा समस्या आउन थाल्छ । उक्त कुरामा हामीले एकदम सचेत हुन आवश्यक हुन्छ किन भने यसले बिरामीको ज्यानसमेत जान सक्ने हुँदा परिवारमा चिन्ता, पैसाको समस्या हुन थाल्छ । महिनावारी बन्द भइसकेपछि वा एउटा उमेर हद पार गरिसकेपछि क्याल्सियमहरू खाएर, व्यायामहरू गरेर कम गर्न सकिन्छ ।

हड्डीको समस्याको लागि विराटनगरमा के कस्तो उपचारहरू गरिन्छ ?

विराटनगरमा अहिले अस्टोपोरोसिस (हड्डी खिइने समस्या) को लागि आधुनिक ल्याबहरू बनिसकेका छैनन् । तर, एक्सरेबाट देखिने हड्डीको आकारले पनि अनुमान लगाउन सक्ने भएको कारण यो रोग पत्ता लगाउन सकिन्छ । रोग पत्ता लागेपछि नेपालकै अन्य अस्पतालमा रिफर गर्ने गरिएको छ । विराटनगरमा फ्राक्चरको उपचार सहज छ । गम्भीर मानिएका पेलिबक र हिपको हड्डीको फ्राक्चर पनि यहाँ उपचार गराइन्छ । पढेर आएका केही डाक्टरहरूले विराटनगरमा अस्टोपोरोसिस सुबिधा सुरु गर्ने विचार गरिहेका छन् । विराटनगरमा चाँडै घुँडा र कम्मर प्रतिस्थापन गर्ने कार्य पनि सुरु हुँदैछ ।

हाडजोर्नीमा अहिलेसम्मको नेपालमा उपचारको अवस्था कस्तो रहेको छ ?

हाडजोर्नीको उपचारबारे धेरै ज्ञान नभएको कारणले गर्दा पनि यहीँ कम खर्चमा हुन सक्ने उपचारलाई मानिसहरू लाखौं तिरेर भारतका विभिन्न सहरहरूमा उपचारका लागि गइरहेका छन् । भारतमा बस्ने खर्चदेखि लिएर खाने, औषधि तथा उपचारमा लाग्ने खर्च नेपालमा भन्दा तीन गुणा धेरै हुने गर्छ ।

इन्डियामा सामान्य सर्जरी गरेको ५ लाख भारु ९ नेपाली ८ लाख लिने गरिन्छ । जुन नेपालमा २ देखि ३ लाखमा हुन सक्छ । त्यो किसिमको जनशक्ति नेपालमा विकशित हुन सकेको छैन । म आफू इन्डियाको एम्समा पढेर आएको हुँ । यस्तो किसिमको सर्जरीहरू हेरेको र गरेको पनि छु ।

कस्तो अवस्थामा हाडजोर्नी रिप्लेसमेन्ट (प्रतिस्थापन) गरिन्छ, अप्रेसन कत्तिको खर्चिलो छ ?

बुढेसकालमा घुँडा बंगिने, दुख्ने समस्याहरू एकदम सामान्य भइसकेको छ र एक्सरे गर्दा घुँडाको हड्डी सबै खिइसकेको हुन्छ । बिरामीलाई घुँडाको रिप्लेसमेन्ट गराउन अतिआवश्क हुने गर्छ । तर, यसखाले सर्जरीको लागि चाहिने समानहरू अमेरिका, जर्मनीहरूबाट ल्याउनु पर्ने हुँदा महँगो हुने गर्छ । अर्को सर्जरी गर्नका लागि बिरामीहरूसँग पर्याप्त पैसा हुँदैन । यस्तो सर्जरीमा एउटा घुँडामा २ देखि ३ लाख रुपैयाँ खर्च लाग्छ । यसैले बिरामीहरू पैसा नभएको कारण सर्जरीभन्दा पनि दुखाइ कम गर्ने औषधि नै मागेर रोग बल्झाउन बाध्य हुन्छन् ।

दुखाइ कम गर्ने औषधिहरू चाहिँ कत्तिको समाधान हुन सक्छन् त ?

दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलरहरू चाहिँ ओस्टोपोरोसिस (हड्डी खिइने समस्या) को समाधान होइन । यस्ता पेनकिलरहरूले केही समयको लागि राहत दिए पनि किड्नीमा असर गरिरहेको हुन्छ । खुट्टा दुख्यो भनेर नहिँडि बस्यो भने अझ धेरै रोगहरू लाग्न सक्छ । पेनकिलरले शरीरको प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाएर नशाहरूमा हुने रोग, मधुमेह, प्रेसर, थाइराइडहरू निम्त्याउन सक्छ । साथै, यसले छाती, कलेजो तथा फोक्सोको समस्याहरू पनि उत्पन्न गराउन सक्छ ।

हाडजोर्नीको उपचारमा कस्ता प्रकारको जटिलताहरू आउन सक्छन् ?

नेपालको प्रसंगमा हेर्ने हो भने उपचारमा धेरै जटिलताहरू आउने गर्छन् । सुरुमा त बिरामीहरूलाई आफ्नो घुँडा बचाउनका लागि सर्जरी गर्नुपर्छ भन्ने कुरा नै थाहा हुँदैन । जुन सुबिधा मान्छेहरूले पाउनुपर्ने हो, उनीहरूले पाउन सकिरहेका छैनन् । बुढेसकालमा एकदम गम्भीर समस्या भइसकेपछि मात्र बिरामीहरू आउने गर्छन् । यसमा पनि धेरैजसो मधुमेहका बिरामीहरू हुने गर्छन् ।

घुँडा खिएपछि नसामा समेत असर पर्ने हुँदा यसले मानिसको मृत्युसमेत गराउन सक्छ । उपचारको क्रममा पनि मृत्यु हुन सक्ने सम्भावना रहन्छ । लामो समयको दुखाइ, बिरामीहरूको शरीरमा औषधिहरूको नकारात्मक असरका कारण सर्जरी गर्दा पनि एकसय जनामा २ देखि ३ जनाको मृत्यु हुने सम्भावना देखिन्छ ।

प्रेसर, थाइराइडका कारण हृदयघातसमेत हुनसक्ने हुन्छ । बुढेसकालमा सर्जरी गर्नु भनेकै एउटा चुनौतीको काम मानिन्छ । तर, समस्याहरूलाई न्यूनीकरण गरेर घुँडाको रिप्लेसमेन्ट गराएपछि मान्छे केही दिनमै हिँड्छ ।

उपचार गर्ने क्रममा विभिन्न विभागका डाक्टरहरूको निगरानीमा शरीरको सबै ब्लड प्यारामिटरहरूलाई जाँच गराएर मात्र सर्जरी गरिन्छ । यदि मधुमेहको बिरामी छन् भने, सुरुमा उनीहरूलाई भर्ना गराएर ब्लड सुगरलाई नियन्त्रणमा ल्याएर मात्र सर्जरी गरिन्छ ।
शरीरमा दुखाइका करण के कस्ता समस्याहरू आउने गर्छन् ?

एउटा मानिसको अधिकार हुन्छ, पेन फ्री भएर आफ्नो जिन्दगी जिउनका लागि । चाहे युवा होस् वा वृद्ध शरीरलाई स्वास्थ्य राख्न र हड्डीलाई मजबुत राख्नका लागि उसले हिँड्नु पर्छ । शरीरमा दुखाइका करण आफूले गरिरहेको काममा समेत ध्यान दिन सकिँदैन र काम पनि बिग्रिन्छ ।

घुँडाको रिप्लेसमेन्ट गर्दा चाहिँ के कति खर्च लाग्न सक्छ ?

सर्जरी आफैँमा एकदम महँगो हुने गर्छ । सर्जरी ४० देखि ५० हजारमा हुनु पर्ने हो तर, घुँडा तथा हिपको ठाउँमा आर्टिफिसियल ज्वाइन्टको प्रयोग गर्नुपर्ने हुँदा, र यी सामानहरू नेपालमा नभएर विदेशबाट मगाउनुपर्ने हुँदा महँगो हुन जान्छ । हरेक सर्जरीको सीमितता हुन्छ ।

कहिलेकाँही बस्दा घुँडाबाट आउने आवाज के करणले आउने गर्छ ?

यो उमेर बढेसँगै विभिन्न कारणले हुने गर्छ । यदि, बच्चामा भइरहेको छ भने, चोटपटकका कारण वा घुँडामा रहेका हड्डीहरू विस्थापन भएका कारण यस्तो हुने गर्छ । युवा अवस्थामा यस्तो आवाज आउने गर्छ भने, उनीहरूको टिस्युमा ग्यासहरू भरिएको कारणले हुने गर्छ ।

यस्ता ग्यासहरू हड्डीहरूको बीचमा फस्ने भएको कारण बस्दा खुट्टा पड्किने तथा कुर्रर गरेर आवाज आउने गर्छ । चोटपटक लगेर हड्डी टुटेर पनि यस्तो प्रकारको आवाजहरू आउने हुन सक्छ । युवा अवस्थामा यस्तो आवाज आएमा सामान्य मानिन्छ तर, वृद्ध अवस्थामा यस्तो आवाज आएमा घुँडा खिइएको, घुँडा बिग्रेको कारणले आएको भनेर बुझ्नु पर्छ ।

धेरैजसो मानिसहरूको हातखुट्टाका औंलाहरू पड्काउने बानी हुन्छ ? यसले हड्डीमा के कस्तो हानी गर्छ ?

यसले त्यस्तो हानी गर्छ भन्ने त हुँदैन । यो भनेको सामान्य शरीरको ग्यासहरू हड्डीहरूको बीचमा फसेको हुँदा आउने सानो आवाज हो । तर, एउटै कुरालाई बारम्बार गरिरहँदा उक्त ठाउँको हड्डी तन्किने हुन सक्छ । कहिलेकाँही पड्काउनु सामान्य भएपनि यसलाई बानीको रूपमा चाहिँ लाग्नु हुँदैन ।

हाडजोर्नीको उपचारहरूमा एकदम अवैध औषधिहरूको प्रयोग भएको भन्ने कुरा धेरैपटक सुन्नमा आउने गर्छ । यसमा कतिको सत्यता हुन्छ ?

औषधिहरूको प्रयोगमा एकदम कुप्रथा फैलिरहेको देखिन्छ । सबभन्दा नराम्रो अभ्यास चाहिँ एन्टीबायोटिकमा देख्ने गरेको पाइन्छ । हड्डीमा सानो चोटपटक लाग्दासमेत मानिसहरू डाक्टरको परामर्शबिना आफैँ जान्ने भएर एन्टीबायोटिकको सेवन गर्न सुरु गर्छन् डाक्टरहरूले चाहिँ जाँच नगरी दिएको आहिलेसम्म सुन्नमा आएको छैन । तर, यो कुरामा बिरामी तथा उनका आफन्तहरूले एकदम ध्यान दिनुपर्ने हुन्छ ।

पेनकिलर औषधिहरूको पनि एकदम धेरै मात्रामा दुरुपयोग भइरहेको छ । स्टेरोइड नामक पेनकिलर सबैभन्दा घातक मानिन्छ । यसको फाइदा आफ्नो ठाउँमा छ तर, यसको साइड इफेक्ट्स यति धेरै छ जब रोगहरू आउन थाल्छ, तब रोकेर रोक्न सकिँदैन । यसले शरीरको हरेक अंगलाई ड्यामेज गर्छ । एक दिनमा भने यसले असर गर्दैन, दुई वर्ष, तीन वर्ष बित्दै गएपछि पेनकिलरले एकदम नकारात्मक असरहरू गर्न सुरु गर्छ ।

सामान्य हात, खुट्टा तथा टाउको दुख्दा समेत पेनकिलरहरू खाने गरेको पाइन्छ । यो गलत हो । खाएपछि दुखेको पनि निको हुन्छ अनि बिर्सिन्छ । तर, यसले गर्दा २ वर्ष, ४ वर्षपछि असर देखाउन सुरु गर्छ । त्यसैले, यस्तो औषधिहरूको प्रयोग गर्नु हुँदैन । पेनकिलरले किड्नीमा असर, पेटमा असर गरिरहेको हुन्छ । अझ वृद्ध अवस्थामा किड्नी आफैँमा कमजोर भइरहेको बेलामा यस्ता पेनकिलरहरूको सेवनले किड्नी फेल हुनेसमेत सम्भावना रहन्छ ।

मधुमेहको समस्याहरू हुँदा हड्डीको समस्या हुने सम्भावना कति हुन्छ ?

शरीरको ब्लड सुगर लेभल कन्ट्रोलमा छैन भने, मांशपेशीमा हुने माएल्जिया यस्तो रोग जसले शरीरको हरेक कोमल अंङगहरू कलेजो, फोक्सो, किड्नी, पेट, आन्द्राभुँडी आदिमा इफेक्ट गरिरहेको हुन्छ । मधुमेहका रोगीहरूमा नसाको समस्या हुने गर्दा खुट्टाहरू सुन्निने, झमझमाउने हुने गर्छ । जसलाई मधुमेह पनि छ र ढाडको पनि समस्या छ भने, यसले धेरै पीडा दिन सक्छ ।

घुडाहरू दुखाउने, जिउको मासुहरू दुखाउनेदेखि लिएर जिउ कटकट हुने गर्छ । तर, सुगर कन्ट्रोल गरेर, नियमित शारीरिक व्यायामहरू गरिरहेको छ भने यस्तो समस्याहरू हुँदैन । शरीरको प्रतिरोधात्मक क्षमतालाई कम्जोर बनाउने मुख्य रोग मधुमेह नै हो । यसको कारणले शरीर कमजोर भएर मानिस चाँडै–चाँडै बिरामी भइरहेको हुन्छ ।

धेरैजसो वृद्ध आवस्थामा हड्डीको समस्या लिएर आउने बिरामीहरू धेरै हुन्छ । हामीले पहिले उनीहरूको सुगरलाई कन्ट्रोलमा ल्याएर मात्र अन्य उपचारहरू सुरु गरिरहेका हुन्छौं । सुगरलाई मात्र कन्ट्रोल गर्न सकेमा धेरै कुराबाट बच्न सकिन्छ । त्यसपछिको समस्याको लागि उपचार गर्नुपर्ने हुन्छ ।

सुगरका बिरामीहरूलाई एकदम शारीरिक व्यायाम आवश्यक हुन्छ । यदि, शरीरमा दुखाइका कारण बिरामी हिँड्न मान्दैन भने उनीहरूलाई हिँडाउनका लागि अवस्थाहरू सिर्जना गर्न सक्नुपर्छ । औषधि तथा इन्जेक्सन दिइरहँदा पनि बिरामी हिँडेन भने उसको सुगर लेबल कन्ट्रोलमा आउन सक्दैन र हड्डी पनि कमजोर हुँदै जान्छ ।

सबैलाई सबै किसिमको जानकारी हुन्छ भन्ने पनि हुँदैन । त्यसैले, सम्बन्धित ठाउँमा गएर सही उपचार गराउनु पर्छ । यदि, जानकार मान्छेलाई नदेखाएको खण्डमा उसले दिएको औषधिले केही घण्टासम्म पीडालाई कम गर्न सकेपनि बाचुञ्जेल औषधिको सेवन गर्न त सम्भव पनि हुँदैन । त्यसैले, कोही घुँडा दुख्ने समस्या लिएर निकै पीडामा हुनुहुन्छ भने उहाँहरूले रिप्लेसमेन्ट गराएकै राम्रो हुन्छ ।

रिप्लेसमेन्ट कसरी गरिन्छ र बिरामीले के कस्तो सतर्कता अपनाउनुपर्ने हुन्छ ?

नेपालमा भने यो अभ्यास अहिलेसम्म पनि सुरु गर्न सकिरहेको छैन तर, भारतमा दिनकै ६ देखि १० जनाको रिप्लेसमेन्ट गरिन्छ । ५ जनामा सर्जरी गरिएको छ भने त्यसमा ३ जना त मधुमेह रोगी नै भएका हुन्छन् ।

सुरुमा उनीहरूको सुगरलाई कन्ट्रोलमा ल्यााएर, घुँडा रिप्लेस गरेर २ हप्ता जति अब्जरभेसनमा राखेर चाहिने औषधि दिने गरिन्छ । केही दिनमै अब बिरामी हिँड्न सक्ने हुन्छ र हामीहरू उसलाई हिँड्न, भर्‍याङ चढ्न र समय व्यायामहरू गर्न अनुमति दिन्छौं । तर, घुँडा रिप्लेस गरिसकेपछि चाहिँ पलेँटी कसेर बस्नु हुँदैन । तल बसेर प्रयोग गरिने ट्वाइलेट नभएर कमोडको प्रयोग गर्नुपर्छ ।

सर्जरीपछि सानोतिनो कामहरू बिरामीले सजिलै अरुको सहायताबिना गर्नसक्ने हुन्छ । तर, यदि हिँडेन भने यसमा झन् जटिलता थपिन जान सक्छ । हिँड्यो भने सुगर पनि कन्ट्रोल हुने, प्रेसर पनि नर्मल हुन्छ र निमोनियाजस्ता घातक रोगहरूबाट बच्न सकिन्छ । बिस्तारै केही समयपछि बिरामी पुनः सामान्य अवस्थामा फर्केर आफ्नो जिन्दगीमा रमाउन सक्ने हुन सक्छ ।

अफिसमा ८ देखि १० घण्टा लगातार बसेर काम गर्दा हुने ढाडको दुखाइको लागि के गर्न सकिन्छ ?

यो अहिले को युवाहरूमा हुने एकदम जल्दोबल्दो समस्याका रूपमा लिन सकिन्छ । धेरैजसो मानिसहरू अफिसकै कुर्सीमा बसेर दिनभरिको समय बिताइरहेका हुन्छन् । यस्तो ८० देखि ९० प्रतिशत हुने ढाडको दुखाइलाई चाहिँ मेकानिकल ब्याक पेन भन्ने गरिन्छ ।

दिनभरि मेसिन जस्तो काम गर्नुभएको हुन्छ । मेसिनलाई पनि त आराम चाहिने हुन्छ । यस्तो प्रकारको ढाड दुखाइको समस्याको समाधान भनेकै व्यायाम, फिजियोथेरापीहरू गर्नु हो । कुनै कुरालाई मजबुत राख्नुहुन्छ भने त्यो ढल्दैन । त्यसरी नै हामीले हाम्रो शरीरको हड्डीलाई जति प्रयोगमा ल्याउँछौं त्यो त्यति नै मजबुत हुनेगर्छ र दुख्न पाउँदैन । र, ढाडको मुख्य दुखाइको कारण भनेको बस्ने तरिका हुने गर्छ । सिधा ढाड बनाएर बस्नुपर्ने ठाउँमा प्रायः मानिसहरू ढाड कुप्रो पारेर बस्ने गर्छन् । अनि, हरेक दुई घण्टापछि सानो ५ देखि १० मिनेटको ब्रेक लिएर जिउहरू तन्काउने, स्ट्रेचिङ्ग एक्सर्साइजहरू गरेर फेरि काम गर्ने । हरेक दिन एस्तो बानी बसाउँदै गएमा ३ देखि ६ महिनाभित्रमा आफ्नो शरीरमा भएको फरक थाहा पाउन सकिन्छ ।

बीचमा ब्रेक लिएर जिउलाई तन्काउने मात्र गर्दा ८ घण्टादेखि १० घण्टा बसे पनि यसले ढाडलाई केही फरक पार्दैन । वृद्ध अवस्थामा यस्तो समस्याहरू आउनु सामान्य हो तर, युवा अवस्थादेखि नै सतर्कता अपनाउने हो भने पछि गएर केही हदसम्म उक्त समस्यालाई कम गर्न सकिन्छ । जति ढाड दुख्दै गयो, मासुहरू दुख्दै गयो त्यति हड्डी खिइने समस्या बढ्दै जाने गर्छ । ढाडको दुखाइ भनेको ४० देखि ५५ वर्षपछि मात्र अलिअलि देखा पर्नुपर्ने समस्या हो ।

पहिलेको जमानाका मानिसहरूलाई भने ७० देखि ८० वर्षको उमेरमा देखापर्ने समस्या हो । तर, आजकलको बद्लिएको जीवनशैलीका कारण २० देखि ३० को उमेरमा यो समस्या देखा पर्न थालिएको छ । पहिलाका मानिसहरू धेरै शारीरिक काम गर्ने हुँदा उनीहरूमा यस्तो समस्या कम देखिएको हो । हामीले पनि अहिले देखापर्ने समस्यालाई न्यूनीकरण गरेर केही समय पछाडि सार्न सकिन्छ ।

हड्डीको समस्यालाई घटाउनका लागि जीवनशैलीमा के–कसरी परिवर्तन ल्याउन सकिन्छ ?

हड्डीको समस्यालाई घटाउनका लागि सबभन्दा महत्त्वपूर्ण कुरा भनेकै शारीरिक व्यायाम नै हो खानेकुरामा भने कार्बोहाइड्रेटयुक्त खानालाई एकदम कम गर्नु पर्छ । शरीरको तौल आफ्नो उमेर तथा उचाइअनुसार नियन्त्रण गरेर राख्नुपर्छ । मोटोपनाका कारण पनि घुँडाको हड्डी खिइने, ढाडको दुखाइ, कम्मरको दुखाइ, कुर्कुच्चामा समस्याहरू उत्पन्न हुन सक्छ । आफ्नो दैनिक शरीरिक कामको आधारमा खानेकुरामा क्यालोरी मेन्टेन गरेर खानुपर्छ । धेरै क्यालोरी खाएको खण्डमा तिनीहरू फयाट (बोसो) बनेर शरीरमा बस्ने गर्छ । हरेक दिन खाने डाइटमा चाहिँ एकदम ध्यान दिन आवश्यक हुन्छ । प्रोटिनको मात्रा बढाएर, फ्याटलाई घटाएर खानेकुरा खाने गर्नुपर्छ । तर, युरिक एसिड भएका बिरामीहरूलाई भने प्रोटिन कम खानुपर्छ ।

युरिक एसिडमा प्रोटिन चाहिनेभन्दा धेरै भएको खण्डमा हातखुट्टा तथा घुँडाका जोर्र्नीहरू दुख्ने हुन्छ । शरीरको बिकर तत्त्वहरू दिसा र पिसाबबाटै निष्कासन हुने गर्दा पानी टन्न पिउने बानी बसाल्नु पर्छ । जस्तै लामो समयसम्म उभिनुपर्दा नरम खालको चप्पलको प्रयोग गर्ने, ढाड सामान्य रूपमा दुखिरहेको छ भने निहुँरेर काम नगर्ने, भारी समान नउठाउने, युवा अवस्थामा शरीरले थाम्न सकेपनि एउटा उमेर हद पार गरिसकेपछि यस्ता साना–साना कुराहरूलाई एकदम ध्यान दिन जरुरी हुन्छ । यदि फ्राक्चरहरू भएको छ भने डाक्टरकोमा गएर जाँच गरी अस्टोपोरोसिस भएको वा नभएको पत्ता लगाएर यसको उपचार गराएर जोगिनु अत्यन्त आवश्यक हुन्छ ।

कस्ता–कस्ता प्रकारका एक्सर्साइजहरू हड्डीलाई मजबुत बनाउनका लागि उपयोगी हुन्छ ?

आजकल इन्टरनेटको जमाना छ । युटुबमा घुँडाको क्वाड्रिसेप्स एक्सर्साइज टाइप गर्नु भयो भने उनीहरूले देखाएको भिडियोबाट मज्जाले सिक्न सकिन्छ । डाक्टरकहाँ तथा फिजियोथेरापिस्टको मै गएर सिक्नुपर्ने कुनै आवश्यक हुँदैन । युवा अवस्था अल्छी नगरिकन एक्ससास्इज गर्दा भविष्यमा हड्डीको समस्याबाट बच्न सकिन्छ । यदि, लम्मो समयसम्म बसेर गर्नु पर्ने काम छ भने शरीर तन्काउने एक्सर्साइजहरू गर्नु अतिआवश्यक हुन्छ ।

व्यस्तताका कारण यस्ता एक्सर्साइजहरू गर्न सकिएन भने मर्निङवाक सबैभन्दा उत्तम उपाय हो । वाकले शरीरको हरेक भागलाई फ्रेस बनाउने काम गर्छ । फ्रेस अक्सिजनका कारण, शरीरको सबै कोषहरूमा रगत प्रवाह बढ्ने हुन्छ । साथै मांशपेशीहरूमा पनि जोर पर्ने हुँदा पूरै शरीरको एक्सर्साइज भइ सुगर तथा प्रेसर पनि कन्ट्रोल हुने गर्छ । हड्डी मजबुत हुनुको साथै कलेजो, फोक्सो तथा बवेल मुभमेन्टहरू एकदम राम्रो हुने गर्छ ।

कब्जियतको समस्याहरू हराएर जान्छ । धेरैबेर बसेर काम गर्ने व्यक्तिहरूमा कब्जियत, पाइल्स, दिसामा रगत आउने समस्याहरू हुने हुँदा समय समयमा ब्रेक लिएर हिँड्ने गर्दा यस्ता समस्याहरू समाधान हुने गर्छ । दिनको केही समयको हिँडाइले भविष्यमा आउने अन्य रोगहरूको समस्यालाई समेत घटाउने गर्छ । जति सकिन्छ त्यति हिँड्नु पर्छ । यदि, समयको कमी छ भने पनि घरमै पनि कम्तिमा पनि १५ देखि २० मिनेट दैनिक हिँड्ने बानी बसाल्नुपर्छ ।

प्रस्तुति : अंकिता ताम्राकार

Loading...