visit-nepal

‘इण्डियन आइडल’ बाट निकालिए अनु मलिक

विराटनगर, ६ मंसिर । भारतीय संगितकार तथा गायक अनु मलिकलाई सोनी च्यानलबाट प्रशारण हुने रियालीटी शो ‘इन्डियन आइडल ११’ बाट निकालिएको छ । उनलाई यौन शोषणको आरोपका कारण चर्को आलोचना भइरहेकोले शोबाट निकालिएको हो ।

केही समय अगाडिदेखि नै अनु मलिकमाथि कैयौँ महिलाहरूले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लागेको कारण शो छोड्नु परेको थियो । भारतीय मिडिया इण्डिया टुडेमा उल्लेख गरिएको एक रिपोर्टअनुसार अनु मलिक इण्डियन आइडल ११ बाट बाहिरिएका छन् ।

सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएपछि अनु मालिकले उक्त शो छोडेका छन् । तर, उक्त विषयमा मिडियासँग कुरा गर्दै अनु मलिकले आफू कुनै पनि किसिमको दबाबमा आएर नभइ आफ्नो स्वेच्छाले शोबाट बाहिरिएको बताए । उनले भने, ‘यस शोबाट तीन हप्ताको बिदा लिएर जाँदैछु र अब म आफ्नो नाममा लागेको दाग हटाएरै फर्कन्छु ।’

गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको छ । आयोगले सोनी टेलिभिजनसँग स्पष्टीकरण माग्दै टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै अनु मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।

‘इन्डियन आइडल ११’ को जजको स्थानमा शोमा अब कसको आगमन हुने भन्ने बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन । सन् २०१८ मा गायिका सोना मोहापात्रा, नेहा भसीन र श्वेता पण्डितलगायत कैयौँ महिलाहरुले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएपछि अनु मलिकलाई इण्डियन आइडल शोबाट हटाइएको थियो । तर, त्यसको एक वर्ष नबित्दै फेरि त्यही ११औं सिजनमा अनु मलिकलाई निर्णायक बनाएर ल्याइएपछि सोना, नेहा र श्वेताले सामाजिक सञ्जालमार्फत चर्को विरोध गरेका थिए ।

Loading...