fbpx

नेयमारको मड्रिड भ्रमणले खुशी छैन पीएसजी

एजेन्सी, ६ मंसिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका प्रशिक्षक थोमस टुचेलले आफ्ना स्टार खेलाडी नेयमारको मड्रिड भ्रमणबाट आफू खुशी नभएको बताएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा टुचेलले ब्राजिलियन स्टार नेयमारको भ्रमणबाट आफू खुशी नभएको बताएका हुन् ।

घाइते भइ आराम गरिरहेका नेयमारले हालै मात्र मड्रिडको भ्रमण गरेका थिए । अक्टोबर महिनामा हाम्स्ट्रिङ इन्जुरी भइ आराम गरिरहेका थिए । पूर्ण रूपमा फिट नभएका कारण अर्जेन्टिनाविरुद्धको खेल गुमाएका उनी आफ्नो परिवारलाई लिएर स्पेनको भ्रमणमा निस्किएका थिए । यसैक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी तथा बार्सिलोनाका स्टार जेरार्ड पिकेसँग पनि भेट गरेका थिए ।

asf

बार्सिलोनाबाट सन् २०१७ मा कीर्तिमानी रकममा पीएसजी आएका २७ वर्षीय नेयमार पुनः ला लिगा क्लब फर्किने चर्चा छ । यस्तैमा मड्रिड भ्रमणमा निस्किएपछि प्रशिक्षक टुचेल निराश भएका हुन् । उनले एक अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘म के गर्न सक्छु र ? म उनको पिता होइन न त पुलिस नै हुँ । म कोच हुँ ।’

‘एक कोचको रूपमा भन्नुपर्दा, म नेयमारको मड्रिड ट्रिपबाट खुशी छैन’, उनले थपे, ‘यो स्पष्ट छ । यो समय मड्रिड जाने होइन । उनी विगत २ साता यहाँ धेरै काम व्यवसायिक बने । यहाँ उनले अरुभन्दा धेरै काम गरे । तर, च्याम्पियन्स लिगको तयारी गरिरहेको बेला उनी मड्रिड जानु ठीक थिएन । ’

नेयमार केही दिन अघिदेखि अभ्यासमा फर्किएका थिए । अब उनले रियल मड्रिडविरुद्ध खेल्नेछन् । पीएसजी र रियलबीचको खेल नोभेम्बर २६ मा हुँदैछ । च्याम्पियन्स लिगको समूह चरणअन्तर्गतको उक्त खेल रियलै खेल मैदानमा बेर्नाबेउमा हुनेछ । रियल र पीएसजीबीचको खेल २६ नोभेम्बर राति १ः४५ बजेबाट हुनेछ ।

त्यसअघि पीएसजीले लिग वानअन्तर्गत लिलेसँग खेल्नेछ । यो खेल आज राति १ः३० बजेबाट हुनेछ । पीएसजीकै मैदानमा हुने उक्त खेलबाट नै नेयमार मैदान फर्किँदैछन् । प्रशिक्षक टुचेलले लिलेविरुद्धको खेलबाट नेयमार मैदान फिर्न सक्ने बताए । उनले भने, ‘उनले लिलेविरुद्ध खेल्न सक्नेछन् । उनले सुरुआतबाटै खेल्ने या सब्सिच्यूटको आधारमा मैदान प्रवेश गर्ने भन्ने विषयमा हामी निर्णय गर्नेछौं ।’

Loading...