fbpx

विराटनगरलाई समृद्ध बनाउने सपना बोकेका उद्योगी बने संघीय सरकारका मन्त्री

मोती दुगड– उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, संघीय सरकार

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगड विराटनगरका स्थायी बासिन्दा हुन् । यहीँ जन्मे–हुर्केका दुगड, नेपालको प्रतिष्ठित औद्योगिक घराना दुगड ग्रुपका सदस्य पनि हुन् । शिक्षित, सौम्य, शान्त स्वभावका दुगडले विराटनगरका लागि लगानीको जोखिम पनि मोलिरहेका छन् । पहिले पोलिमर, खाद्यान्नलगायतका नवीनतम उद्योग सञ्चालन गरेर सफलता पाएका दुगडले तीन वर्षअघि विराटनगरमा ४० करोड लगानीमा पर्यटकस्तरको नमुना होटल ‘ह्यारिसन’ सञ्चालनमा ल्याएका छन् । र, चाँडै स्टार होटलसहितको नेपालकै नमुना व्यापारिक महल सञ्चालन गर्नेगरी विराटनगरमै निर्माण गरिरहेका छन् । भौतिक वस्तु उत्पादनबाट सेवामूलक व्यवसायमा ‘युटर्न’ गरेका विराटनगरलाई औधी माया गर्ने उद्योगी तथा नवनियुक्त राज्यमन्त्री मोती दुगडले दुई वर्ष पहिले विराटनगरलाई समृद्ध बनाउने आफ्नो सपना यसरी सुनाएका थिएः

asd

विराटनगरको धेरै माया लाग्छ

म विराटनगरमा जन्मेको, हुर्केको, पढेको र बढेको युवा हुँ । मलाई विराटनगरबासी हुँ भन्दा गर्व लाग्छ । विराटनगर नेपालको सुन्दर नगर हो । यो एक नम्बर प्रदेशको मात्र नभएर देशकै आर्थिक राजधानी पनि हो । अग्रणी औद्योगिक नगर हो । यसैले मैले विराटनगरबाहिर जाने कहिल्यै सोच बनाइँन । विराटनगरमै केही गर्नुपर्छ भन्ने अठोट बनाएँ र अहिले त्यसै गरिरहेको छु । जन्मभूमि हाम्रो देश हो । आमा हो । यसैले बाहिर गएर उद्यम गर्नुभन्दा देशमै गरेको उत्तम हुन्छ । मैले विराटनगरमा धेरै प्रकारका नवीनतम उद्योगहरू स्थापना गरेँ । त्यसमा म सफल पनि भइरहेको छु । मलाई मेरो देशको धेरै ठाउँहरू मनपर्छ । तर मलाई अधिक मनपर्ने र माया लाग्ने विराटनगरकै हो । किनभने यो मेरो जन्मभूमि हो । म बाहिर गएँ भने धेरै दिन बस्नै सक्दिँन । कतिखेर विराटनगर पुगौं भन्ने लागिहाल्छ । विराटनगर सबै जातजाति भाषाभाषी, वर्ग, समुदाय मिलेर बसोबास गरेको ठाउँ हो । यहाँ कुनै असुरक्षा छैन । नेपालका अन्य धेरै सहरहरू असुरक्षित छन् । तर विराटनगरमा राति बाह्र बजे पनि महिलाहरू निर्धक्क हिँड्न सक्छन् । विराटनगरमा बौद्धिकता पनि छ । यहाँका मानिसहरू सहयोगी भावनाका छन् । मलाई लाग्छ भौतिक पूर्वाधारमा ध्यान दियो भने विराटनगर चाँडै र सँधै देशका लागि अग्रणी महानगर बनिरहने छ । विराटनगरले अझै धेरै प्रगति गर्नेछ । यसका लागि हामी विराटनगरबासीहरू सँधै सचेत रहनुपर्छ र विराटनगर महानगरपालिका, प्रदेश र संघीय सरकार पनि गम्भीर हुनुपर्छ ।

विराटनगरका लागि लगानीको जोखिम मोलेको हुँ

मलाई धेरै साथीहरूले भनेका थिए र अझै पनि भन्दैछन । विराटनगरमा हैन आउटअफ विराटनगर लगानी गर । विराटनगरमा गरेको लगानी डुब्छ । किनभने विराटनगर डेड सिटी हुँदैछ । तर मैले विराटनगरकै मायाले नेपालमै सुरु नभएका धेरै वटा नवीनतम उद्योगहरू विराटनगरमा स्थापना गरेँ । चाहे त्यो मसला होस् वा पोलिमर । म सबैमा सफल भएँ । लगानी डुबेन । आखिर हामीले आफ्नो देश पहिले आफ्नै ठाउँबाट बनाउन सुरु गर्ने हो । आफ्नै ठाउँलाई पहिले न्याय दिने हो । धेरै कुरा गर्नुभन्दा जति जहाँबाट सकिन्छ योगदान गर्ने हो । यसैले म पनि विराटनगरबाट देशका लागि आर्थिक योगदान दिने प्रयत्न गरिरहेको छु । भर्खरै ४० करोड लगानीमा अन्तर्राष्ट्रियस्तरको होटल ह्यारिसन विराटनगरमा सञ्चालनमा ल्याएँ । राम्रो चलिरहेको छ । सबैले विराटनगरको नमुना होटल भनेर चर्चा गरेका छन् । धेरै जना होटल हेर्नकै लागि मात्र पनि आउने गरेका छन् । यसले मलाई लाग्छ विराटनगरको विकासमा सघाएको छ ।

fg

विराटनगरमा पनि अन्तर्राष्ट्रियस्तरको नमुना होटल छ भन्ने सन्देश गएको छ । पहिले विराटनगरमा मान्छे बस्दैनथे । काठमाडौँ नै फर्कन्थे । तर आजकल बास बस्न थालेका छन् । विराटनगरलाई हेर्ने बुझ्ने मौका पाएका छन् । यो पनि विराटनगरका लागि उपलब्धि हो । मलाई लाग्छ विराटनगरमा अझै अन्तर्राष्ट्रियस्तरका दुई–चार होटल मज्जाले चल्न सक्छन् । किनभने विराटनगर सेफ सिटी हो । विराटनगरमा होटल चल्दैन भन्ने सोच गलत हो । राम्रा होटल नभएर नचलेको हो । अहिले मेरो होटलमा पार्टी गर्नेहरूको घुइँचो हुन्छ । रुमहरू मारामार लागिरहेको छ ।

फाइभस्टार होटलसहितको व्यापारिक मल चाँडै

अर्को एक वर्षभित्र विराटनगरमा फाइभ स्टार होटलसहितको व्यापारिक मल सञ्चालनमा ल्याउँदैछु । धमाधम निर्माण भइरहेको छ । त्यसले पनि ‘‘ए विराटनगरमा त केही छैन” भन्नेहरूलाई गतिलो जवाफ दिनेछ । मैले सञ्चालनमा ल्याउन लागेको मल नेपालकै नमुना मल हुनेछ । मल सञ्चालनमा आएपछि विराटनगरको सोसाइटीमा धेरै चेञ्ज आउनेछ भन्ने पनि मैले ठानेको छु ।

asd

मैले जस्तै सबैले ढुक्क भएर नवीनतम उद्योगहरूमा अप्ठेरो नमानी लगानी गर्ने हो भने विराटनगर सधैँका लागि अग्रणी औद्योगिक नगर रहिरहनेछ । किनभने विराटनगरलाई समृद्ध बनाउने दायित्य हाम्रो पनि हो । सबैथोक काठमाडौँ मात्र हो विराटनगरमा केही छैन, केही होइन भन्ने सोच अब त्याग्नुपर्छ । अग्रणी विराटनगर बनाउनु हामी सबैको दायित्व हो । सरकारले त नीति र पूर्वाधार तयार गरिदिने मात्र हो । हामीले हाम्रो ठाउँलाई माया नगर्ने अनि विकास भएन भनेर गुनासो मात्रै गरेर हुँदैन ।

नेपालमा भएका प्रायः सबै घरानियाँहरू विराटनगरकै हुन् । तर उनीहरूले सबैथोक काठमाडौँ नै हो भनेर आफूलाई सिफ्ट गरे । आखिर उनीहरू फस्टाएको त विराटनगरबाटै हो नि ! यसैले उनीहरूले पनि विराटनगरका लागि बोल्नुपर्छ । नवीनतम उद्यमहरू विराटनगरमा सञ्चालन गर्नुपर्छ । पूर्वाधार तयार भएपछि विराटनगर नेपालकै सेफ र सुन्दर सिटी पक्का हुन्छ ।

सरकारले आधार बनाइदिनुपर्छ

अग्रणि औद्योगिक नगरी भनेपनि विराटनगरमा अझैसम्म एउटा पनि औद्योगिक प्रदर्शनीस्थल छैन । अझैसम्म विमानस्थलको स्तरोन्नति भैसकेको छैन । बीस वर्ष भयो चक्रपथ बन्न थालेको तर अझै पूरा भएको छैन । भारतले डाईपोर्ट सञ्चालनमा ल्याइसक्दा पनि हाम्रोमा अझै सञ्चालन हुन सकेको छैन । जोगबनी–किमाथांका नाकाको कुरा पनि कथा जस्तै छ । यदि, विराटनगरलाई समृद्ध बनाउने हो भने सरकारले पनि आधाभूत कुरा पूरा गरिदिनुपर्छ । भर्खरै संघीय र प्रदेश सरकारले बजेटमा आशालाग्दा कुराहरू ल्याएका छन् । यो कार्यान्वयन भयो भने विराटनगरलाई धेरै फाइदा हुन्छ ।

विराटनगर धेरै नेता, मन्त्री र प्रधानमन्त्री जन्माउने, हुर्काउने सहर भएर पनि अहिलेसम्म कसैले विराटनगरका लागि भनेर केही गरेको देखिएन । सबै कुरा गर्ने तर काम नगर्ने भए । गृहथलो विराटनगरलाई बताएपनि आफ्नो बासस्थानचाहिँ राजधानीतिरै बनाए । यसैले पनि विराटनगरको विकास नभएको हो । देशको ऐतिहासिक अग्रणी औद्योगिक नगर भएर पनि खै त विराटनगर अझै किन पछाडि परिरहेको छ त ? अब त विराटनगर प्रदेशको राजधानी पनि घोषणा भैसकेको छ । स्तरोन्नतिका लागि विश्व बैंकका परियोजनाहरू पनि सञ्चालनमा छन् । कामहरू धमाधम भइरहेका छन् । अब विराटनगर पहिलाभन्दा राम्रो हुन्छ भन्ने आशा पलाएको छ ।

विराटनगरकै लागि सेवा व्यवसायमा ‘यु टर्न’ गरेँ

हामी घरानियाँहरू परम्परागत लगानीमा रमाइरहेका छौं । यसैले पनि ठूलो उद्यमको क्षेत्र सेवामूलक व्यवसायमा लगानी गर्न डराइरहेका छाैं । नेपालका लागि होटल, अस्पताल, विद्यालय, कलेज, आदि माटो सुहाउँदो व्यवसाय हुन् । यसमा लगानी डुब्दैन । सुरुमा लगानी गर्ने आँट मात्र गर्नुपर्छ । सेवामूलक व्यवसाय दीगो व्यवसाय पनि हो ।

परम्परागत लगानीमा बानी परेकोले होला अझै घरानियाँहरूले आफूलाई परिवर्तन गर्न सकिरहेका छैनन् । तर अब सोच फेरिँदै गएको छ । घरानियाँहरुका नयाँ पुस्ता बाबुबाजेले गरेकै उद्यममा रमाउन छाडेका छन् । उनीहरू नयाँ–नयाँ उद्यम गर्न अग्रसर भइरहेका छन् । कोही आइटी, कोही पर्यटन त कोही शिक्षा अनि कोही स्वास्थ्य क्षेत्रको उद्यममा लागेका छन् । यो राम्रो हो । यसले नेपालको सेवामूलक व्यवसाय वृद्धि गर्नेछ । स्तर बढाउनेछ । अब परम्परागत उद्योगहरूमा मात्र लगानी गरेर हँुदैन र एकै घरका सदस्यहरू एकैखाले उद्यममा भुलिनु हुँदैन बिस्तार हुनुपर्छ भन्ने सोच पनि फैलिँदै गएको छ ।

मलाई पहिलेदेखि नै होटल व्यवसाय गर्ने सोच थियो । तर समय अनुकूल भएकै थिएन । मेरो पहिलेदेखि नै नयाँ नयाँ होटलमा बस्ने सोख पनि थियो । र होटल व्यवसाय मेरो सोख पनि हो । यसैले मैले होटल व्यवसायमा जोखिम मोलेर लगानी गरेको हुँ । खाद्य, केमिकल, पाइप, उद्योग सञ्चालन गरेर सफल उद्योगी बनिसकेको मलाई जहिल्यै लाग्थ्यो किन विराटनगरमा एउटा राम्रो होटल छैन ? लगानी किन भइरहेको छैन ? यसैले साथीहरूले तँ डुब्छस् भने पनि मैले लगानीको जोखिम मोलेर विराटनगरलाई चिनाउने होटल खोलेको हुँ । मैले विराटनगरमै पहिले नै रिर्सोट पनि सञ्चालन गरिसकेको छु । फाइभस्टार होटल पनि बनाउँदै छु ।

राजनीतिमा बेइमानी गर्दिँन

समाज सेवा र राजनीति मेरो चाहना र रुचि दुवै हो । म सानैदेखि राजनीतिमा चासो दिन्थेँ । तर मैले सक्रिय राजनीति गरिनँ किनभने पढ्दा र उद्योग व्यापारको कला सिक्दा–सिक्दै मैले फुर्सद नै पाइनँ । तर पनि म अरुजस्तो राजनीति फोहोरी खेल हो भनेर भागेर बसिनँ । भेटघाटमा सँधै सक्रिय रहेँ । म स्वर्गीय गजेन्द्रनारायण सिंहलाई धेरै मान्थँे । यसैले सद्भावना पार्टीमा सक्रिय भएँ । सांसद बनेँ । तर पछि राजनीति फोहोरी हुँदै गएको देखेपछि आफैंले नव नेपाल निर्माण पार्टी खोलेँ । पार्टीले देशैभर चुनाव लड्यो । तर छोटो समय भएकोले मैले सफलता पाउन सकिनँ । पछि नेकपा एमालेले मलाई माया गर्‍यो। खासगरी प्रधानमन्त्री केपी ओलीले मलाई देशकै ठूलो पार्टीको केन्द्रीय सल्लाहकार बनाइदिनुभयो । मैले पनि पार्टीप्रति प्रतिवद्ध भएर योगदान दिइरहेको छु । हाम्रो घरानाबाट देशको ठूलो पार्टीमा यति ठूलो राजनैतिक पदमा पुग्ने सायद म मात्रै हुँ । पार्टीले मलाई संघीय सांसद पनि बनाएको छ । यसैले आगामी दिनमा अझै जिम्मेवार भएर योगदान दिँदै जानेछु ।

(दुई वर्षअघि विराटनगरको अवस्था र विकासको वारेमा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री मोती दुगडको यो विचार सान्दर्भिकताका लागि पुनः प्रकाशन गरिएको हो )

Loading...