fbpx

प्रधानमन्त्रीको निर्देशन : फागुन पछि काठमाडौंका सडकमा खाल्डा नदेखियोस्

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीबार पहिलो पटक मन्त्री र सचिवहरुलाई समन्वय गरेर काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न पनि निर्देशन गरेका छन् । ‘पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्काे निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन’ प्रधानमन्त्री ओलीले भने ‘भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनु पर्यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनु पर्यो ।’

विकासका लागि सरकारको समथ्र्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले तत्परता अपनाउन निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्डा देखिन नहुने बताए ।

‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्डा छन् भन्ने देखिनु हुँदैन’ प्रधानमन्त्री ओलीले भने ‘विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वाभाविक हो, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सिधै कारवाहीको भागीदार हुने चेतावनी दिए ।

Loading...