fbpx

प्रदेशमा लागु औषध र बलात्कार सम्बन्धी अपराधका कैदीबन्दी बढी

विराटनगर, ५ मंसिर । प्रदेश १ का कारागारमा लागुऔषध र बलात्कार सम्बन्धी अपराधका कैदीबन्दी धेरै रहेको पाइएको छ । प्रदेश १ का १४ जिल्लामा जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग र लागुऔषध कारोवार सम्बन्धी अपराधमा संलग्न कैदी बन्दी बढी रहेको पाइएको हो ।

जघन्य अपराधमा ५३ प्रतिशत कैदी बन्दी छन् । अन्य अपराधमा संलग्न ४७ प्रतिशत कैदीबन्दी छन् । १४ जिल्लाका कारागारहरुमा ५ हजार १ सय ४८ कैदीबन्दी छन् । यी मध्ये बलात्कार सम्बन्धी र लागुऔषधका मात्रै २ हजार ७ सय ७४ कैदीबन्दी छन् ।

बलात्कार र बलात्कार प्रयास सम्बन्धीका १ हजार ९ सय ३६ जना कैदीबन्दी छन् । लागुऔषधका ८ सय ३८ जना छन् । अन्य अपराधसँग जोडिएका २ हजार ३ सय ७४ जना कैदीबन्दी छन् ।

सुनसरीमा रहेको क्षेत्रीय स्तरको झुम्का कारागारमा १ हजार ७ सय ३७ कैदीबन्दी छन् । लागुऔषध र बलात्कार सम्बन्धीका मात्रै ९ सय ८७ जना छन् ।

झापा कारागारमा रहेका १ हजार १ सय ३३ मध्ये लागुऔषध र बलात्कार सम्बन्धीका ६ सय १० कैदीबन्दी छन् । इलाममा १ सय ७१ मध्ये ९४, पाँचथरमा १ सय ५५ मध्ये ५६, ताप्लेजुङमा १ सय ३१ मध्ये ४७ जना कैदीबन्दी लागुऔषध र बलात्कार सम्बन्धीका छन् ।

मोरङ कारागारमा रहेका ९ सय ७ मध्ये ६ सय ७४ जना लागुऔषध र बलात्कार सम्बन्धी अपराधका कैदीबन्दी छन् । धनकुटामा रहेका ६४ मध्ये ३२, उदयपुरमा २ सय २ मध्ये ९८, खोटाङमा १ सय १३ मध्ये ३३, ओखलढुंगा कारागारमा रहेका ६८ मध्ये २१ जना लागुऔषध र बलात्कार सम्बन्धीका कैदीबन्दी छन् ।

भोजपुरमा १ सय १३ मध्ये ३६, संखुवासभामा १ सय १० मध्ये ११, तेह्रथुममा ८८ मध्ये ४९ र सोलुखुम्बु कारागारमा ७५ मध्ये २६ जना कैदीबन्दी बलात्कार सम्बन्धीका छन् ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले कारागारका कैदीबन्दीको संख्याले पछिल्लो समय बलात्कार र लागुऔषध सम्बन्धी अपराध धेरै भइरहेको बताए ।

Loading...