fbpx

नाकाबाट १६ बोरा मरिच बरामद, तस्करीका लागि सीमामा गोदाम

विराटनगर,५ मंसिर । प्रहरीले भारत तर्फ तस्करी गरी लैजादै गरेको अवस्थामा १६ बोरा मरिच बरामद गरेको छ । मोरङको जहदा गाउँपालिका–१ तारिगामाबाट प्रहरीले बिहीबार भारतीय मोटरसाइकलमा राखेर भारत लग्दै गरेको अवस्थामा १६ बोरा मरिच बरामद गरेको हो ।

बिहान १० बजे अढाई लाख मूल्य बराबरको चार सय २५ किलोग्राम मरिच बरामद भएको हो । उक्त मरिच डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ नम्बरको मोटरसाइकलमा राखेर भारततर्फ तस्करी गर्ने काम भइरहेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा मरिच बरामद भएको बताए । मरिच तस्करीमा संलग्न भने प्रहरीलाई देखेपछि भागेको दाबी प्रहरीको छ ।

बरामद भएको मरिच र नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारबाहीका लागि बिहीबार नै विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी एसपी अधिकारीले दिए ।तेस्रो मुलुकबाट ल्याएर मरिच तस्करी हुने क्रम बढेर नियन्त्रण गर्न चुनौती पूर्ण हुन थालेपछि सीमावर्ती सबै नाकामा विशेष टोली खटाएर निगरानी बढाइएको उनको भनाइ छ ।

नेपालमा भन्दा भारतमा मूल्य दोब्बर रहेका कारण तेस्रो मुलुकबाट आयात हुने कालो मरिच भारत तस्करी भइरहेको छ । नेपालमा प्रति किलो मरिच चार सय ६० देखि पाँच सय रुपैयाँसम्म पर्छ । भारतमा प्रति किलो एक हजार रुपैयाँसम्म छ ।

तस्करहरुले भारत गएका नेपाली सवारी साधनमाथि त्यहाँका सुरक्षाकर्मीले कडाई गर्ने भएकाले भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा मरिच तस्करी गर्ने गरेको पाइएको छ । सीमा क्षेत्रका बासिन्दाकाअनुसार मरिच तस्करीमा संलग्नले नेपाल–भारत सीमा क्षेत्रमा गोदाम नै बनाएका छन् ।

Loading...