‘लभ यू हमेशा’ को ‘यो हावा किन चल्छ’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ५ मंसिर । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्म ‘लभ यू हमेशा’ को गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश गरिएको ‘यो हावा किन चल्छ’ बोलको गीतलाई युटुबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा फिल्मका मुख्य अभिनेता यशराज गरच र अभिनेत्री ऋचा थापाबीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । सार्वजनिक गरिएको भासुको शब्द तथा संगीतको गीतमा गायक सुधिर राइ र गायिका मेलिना राइको स्वर रहेको छ । फिलिपिन्सको समुन्द्रमा छायांकन गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् ।

भास्कर प्रधानको लेखन तथा निर्देशनमा तयार भएको फिल्म यही मंसिर १३ गते देखि प्रदर्शनमा आउने भएको छ । फिल्ममा यशराज र ऋचाका साथ अभिनेत्री फिजा योञ्जन, शिशिर राणा, गोपाल ढकाल, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतको कलाकारहरुको अभिनय रहेको छ ।

धर्मा क्रिएसनको ब्यानरमा रहेर यवन गुरुङको प्रस्तुति रहेको फिल्मलाई मिलन गुरुङले निर्माणमा सहयोग गरेका छन् । मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा शिव ढकालको छायांकन रहेको छ । फिल्मलाई काठमाडौं, भारतको कालेबुङ, सिलगुडी तथा सिंगापुर र फिलिपिन्समा समेत छायांकन गरिएको हो ।

फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत तथा कमल राईको कोरियोग्राफी रहेको छ । कलाकार र निर्माण टिम फिल्मप्रति निकै आशावादी रहेका छन् ।

Loading...