fbpx

मालदीभ्सको नाममा ५० लाख ठगी

विराटनगर ४ मंसिर । माल्दिभ्स जाने आशमा ५० जना ठगिएका छन् । आर्कषक तलबको लोभमा दलाललाई प्रतिव्यक्ति एकलाख रुपैयाँका दरले बुझाएका ५० जना युवाहरु ठगिएका हुन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक र बेलबारी नगरपालिका–१० दुवै ठाउँमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल विडारीले र मालदीभ्स बस्दै आएका सागर भनिने बुद्धिसागर अधिकारीले ठगी गरेका हुन् ।

युवाहरुबाट पैसा उठाएर महिला कात्तिक तेस्रो सातबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।

विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाहरुले लक्ष्मीको एयरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन् ।

उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । ‘वैदेशिक रोजगारी सम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितहरुको आग्रहमा एयरपोर्ट रोक्का गरिएको हो,’ सञ्जेलले भने, ‘थप कारबाहीका लागि तत्काल अरु प्रक्रिया अघि बढाइने छ ।’ पीडितहरु झापा, मोरङ, सुनसरी लगायतका छन् ।

पीडित मध्येका एक सुन्दरहरैंचा–१२ का प्रतापकुमार कोइरालाले सुरुमा आफूहरुलाई मालदीभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताए । धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्ड लगाइदिने भन्दै लक्ष्मीको बैंक खातामा पैसा जम्मा गरिदिनु भनेको जानकारी उनले दिए ।

मासिक सात सय अमेरिकी डलर तलब पाउने गरी दुई महिना भित्रमा मालदीभ्स पठाउने भनेर २०७५ माघमा आफूहरुसँग पैसा लिएको उनको भनाइ छ ।

Loading...