fbpx

चौमासिक बितिसक्दा पनि एक नम्बर प्रदेशका कृषकले अनुदान पाएनन्

यज्ञ अधिकारी

रंगेली, ४ कात्तिक । हिउँदे बालीको मुख्य समय सुरु भइसक्दा पनि कृषकहरूले प्रदेश सरकारले वितरण गर्ने अनुदान पाउन सकेका छैनन् । एक नम्बर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि संशोधन गर्न ढिलाइ गर्दा पर्खेर बसेका कृषकहरूले समयमा अनुदान पाउन नसेकेका हुन् ।

एक नम्बर प्रदेशमा मंसिर लागेसँगै हिउँदे नगदेबाली गहुँ, मकै र तोरीको सिजन सुरु भइसकेको छ । यो सिजनमा किसानले मल, बिउमा सरकारबाट अनुदान पाउँदै आएका थिए । तर, सरकारले अनुदान वितरण गर्ने कार्यविधि गलत बनाएको भन्दै सांसदहरूले आलोचना गरेका थिए । साना कृषकहरूलाई उपेक्षा गरेर सरकारले अनुदान कार्यविधि निर्माण गरेको भन्दै संशोधन गर्न सांसदहरूले माग गरेका थिए । त्यसपछि प्रदेश सरकारले सबैसँग रायलिएर अनुदान कार्यविधि संशोधन गराउन थालेको हो ।

तर, पहिलो चौमासिक सकिसक्दा पनि सम्बन्धित कार्यालयले किसानलाई अनुदानको लागि आह्वान गर्न सकेको छैनन । कार्यविधिको अभावमा किसानलाई अनुदान वितरण गर्न नसकिने कार्यालयहरूले जनाएका छन् । किसानहरू अनुदानको लागि बुझ्न कृषि ज्ञान केन्द्र पुगे पनि रित्तो हात फर्कने गरेका छन् । किसानहरू आएपनि अनुदानको कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउँछन्, कृषि ज्ञान केन्द्र सुनसरीको सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंह ।

उनी भन्छन्, ‘मन्त्रालयबाट अनुदानसम्बन्धी कार्यविधि संशोधन भएर नआएकोले अड्किएको हो ।’ कार्यविधि संशोधन भएर मन्त्रालयबाट कृषि निर्देशनालयमा आउने र त्यसपछि ज्ञान केन्द्रले प्राप्त गरेपछि अनुदान वितरण सुरु हुने सिंहले जानकारी दिए । उनले भने, ‘‘ज्ञान केन्द्रमा आउनेबित्तिकै कृषकहरूलाई आह्वान गरेर वितरण सुरु गर्नेछौँ ।’

यता प्रदेश सरकारको कृषि निर्देशनालयले कार्यविधि संशोधनको लागि मुख्यमन्त्रीको कार्यलयमा पठाएको लामो समय भएपनि अझै संशोधन हुन सकेको छैन । किसानलाई अनुदान वितरणसम्बन्धी कार्यविधि मन्त्रीपरिषदको कार्यालयमा अड्किएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री शेरधन राईले नै सम्हाल्दै आएका छन् ।

कार्यविधि संशोधनको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा स्वीकृतिको लागि पठाइसकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमलकुमार निर्मलले बताए । ‘अन्य प्रदेशको भन्दा अलि फरक र व्यवस्थित गर्न खोजेका छौँ यसैले केही ढिलाइ भएको हो,’ सचिव निर्मलले भने ।

Loading...