fbpx

नगर प्रमुखले मनोमानी गरेको भन्दै वडाध्यक्ष आन्दोलित

विराटनगर, ४ मंसिर । मोरङको रंगेली नगरपालिकाका प्रमुखविरुद्ध वडाअध्यक्षहरूले आन्दोलन सुरु गरेका छन् । नगरप्रमुख दीलिप बगडियाविरुद्ध कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यले अन्दोलन सुरु गरेका हुन् ।

नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेको र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै बहुमत सदस्यले आन्दोलन सुरु गरेका हुन् । उनीहरूले नगरपालिकामै संयुक्तरूपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढङ्गले नगरपालिका चलाएको आरोप लगाएका छन् । प्रमुखले आफ्नो कार्यशैली नसच्याए यही मङ्सिर ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएइको छ ।

वडा नं २ का वडाध्यक्ष जितनारायण खवासले रङ्गेली सामुदायिक भवन निर्माणको कोटेशनलगायतका विषयमा शङ्का गर्दै विकास निर्माणको काममा आफ्नो उद्योगको सामान प्रयोग गरेको आरोप लगाए । रंगेली बजारको सडक विस्तारको विषयमा अन्तिम पटक कार्यपालिका बैठक बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमति भए पनि बगडियाले आफूखुशी निर्णय गरेको वडाध्यक्ष खवासको भनाइ छ ।

कार्यपालिका सदस्य शङ्करप्रसाद साहले व्यक्तिगत रिसइबी राखेर एउटा घरमा डोजर लगाएको आरोप लगाउँदै भने, ‘नगरको विषयगत समिति भङ्ग भए तापनि उनीहरुलाई बोलाएर प्रमुखले निर्णय गर्दै आउनुभएको छ, यो गैरकानूनी हो ।’ वडा नं ३ का वडाध्यक्ष धनश्याम पनेरुले अन्तिम कार्यपालिका बैठकबाट रङ्गेली बजार विस्तारका क्रममा मुआब्जा मागका लागि सिफारिस गर्ने भन्ने योजना राखिए तापनि बैठक नहुँदा गर्न नसकिएको र जनताको काम नरोकिने गरी आन्दोलन गरिने स्पष्ट पारे ।

वडा नं ४ का अध्यक्ष भुपेन्द्र मण्डलले आफू निर्वा्चित रहेको वडामा डोजर चलाइँदासमेत आफूलाई नगरप्रमुखले सूचित नगरी भत्काइएको जानकारी दिए । वडा नं ९ का अध्यक्ष केदारचन्द राजवंशीले प्रमुखले रङ्गेली हाटलाई डेढ वर्षदेख अस्तव्यस्त बनाएको, दोहमना हाटको बजेटबिनै घर भत्काएर योजना अधुरै राखेको, दुई वर्षअघिको सडकबत्तीको योजना हाल आएर थालिनु भनेको प्रमुखले रवाफ देखाएको आरोप लगाए । रासस

Loading...