fbpx

माछाको बोसो : क्यान्सरको अचुक ओखती

विराटनगर, ४ मंसिर । मासुमा पाइने बोसो शरीरको स्वास्थ्यको लागि राम्रो मानिँदैन । खसी, बोका वा राँगाको मासुमा पाइने बोसोले भने शरीरलाई नकारात्मक असर गरिरहेकै हुन्छ । तर, माछामा पाइने बोसो भने हानीकारक नभइ माछाको बोसोमा पाइने तत्वले क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको संक्रमण भइसकेकामा पनि शरीरको अन्य भागमा क्यान्सर फैलिने दर सुस्त बनाउन सहयोग गर्ने पत्ता लागेको छ ।

अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरबाट विद्यावारिधी गरेकी डा. सरस्वती खड्गीले आफ्नो पिएचडीको अनुसन्धान स्तन क्यान्सर र क्यान्सरमा ओमेगा–थ्रीको प्रभावका बारेमा अध्ययन गरेको बताइन् । अनुसन्धानको क्रममा स्तनक्यान्सरको जोखिम न्युनिकरण गर्न ओमेगा–थ्रीले कस्तो सहयोग पुर्याउँछ भनेर मुसामा परीक्षण गरिएको थियो ।

मुसामा गरिएको अध्ययनबाट ओमेगा–थ्रीले क्यान्सरको जोखिम कम गर्नुका साथै क्यान्सर संक्रमण भइसकेपछि त्यसको फैलने दरलाई पनि कम गर्ने अनुसन्धानले देखियो । यसको अर्थ ओमेगा–थ्रीले उपचारबाट पूर्ण निको नहुने अवस्थामा पुगेका क्यान्सरका बिरामीको जीवन अवधि बढ्ने गरेको समेत पाइयो । क्यान्सर फोक्सो, हड्डी वा शरीरका अरु भागमा फैलिएपछि बिरामीको मृत्यु हुने हो ।

तर, क्यान्सर नफैलिएसम्म कुनै पनि बिरामीको मृत्यु नहुने भएका कारणले ओमेगा–थ्रीले क्यान्सर फैलन रोक्न सक्ने हुँदा क्यान्सरको उपचारमा नयाँ सम्भावना देखिएको डा. खड्गीले बताएकी छन् । ‘ओमेगा–थ्रीले क्यान्सरको फैलावटलाई रोक्ने गरेको अनुसन्धानमा पाएका छौँ’, उनले भनिन्, ‘र, ओमेगा–थ्रीको प्रमुख स्रोत भनेको माछाको बासो हो । माछाको बासोमा ओमेगा–थ्री प्रशस्त मात्रामा पाइने हुँदा माछाको तेल विशेष गरी स्तन क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको बिस्तार कम गर्न उत्कृष्ट औषधि साबित भएको छ ।’

रातो मासुमा पाइने बासोमा ओमेगा–सिक्स पाइने गर्छ र, विशेष गरी ट्राउट, सालमन जातका माछाहरूमा मा ओमेगा–थ्री बढी पाइने गर्छ । माछाका साथै ओखर, सागपात, आलसमा पनि ओमेगा–थ्री पाइन्छ । बजारमा माछाको तेलको ट्याबलेट पाइने भएकाले त्यो पनि प्रयोग गर्न सकिन्छ । यस्ता ओमेगा–थ्री पाइने कुराको नियमित सन्तुलन मिलाएर खाएमा क्यान्सरको जोखिम कम हुने उनले बताइन् । डा. खड्गीका अनुसार अनुसन्धानमा विश्वविद्यालयका प्राध्यापक जेम्स ताल्माड्जले सुपरभाइज गरेको र अहिले अमेरिकाको टेनिसेमा मानिसमा यसको परीक्षण भइरहेको छ ।

Loading...