fbpx

‘२०२० को युरो कप बेल्जियमले जित्छ’

एजेन्सी, ४ मंसिर । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्ट मार्टिनेजले आगामी वर्ष हुने युरो कपको उपाधि आफ्नो टोलीले जित्ने बताएका छन् । मंगलबार राति युरो कपको छनौट खेलमा फराकिलो जित निकालेपछि बेल्जियमका प्रशिक्षक मार्टिनेजले यस्तो बताएका हुन् ।

छनौटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले साइप्रसविरुद्ध ६–१ गोलको फराकिलो जित निकालेको थियो । आफ्नै घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जिताउन क्रिस्टियन बेन्टेके र केभिन डी ब्रुनेले समान २–२ गोल गर्दा यान्निक कार्रास्कोले एक गोल गरे । यस्तै साइप्रसका किप्रस क्रिस्टोफोरोले आत्मघाती गोल गरेपछि उसले ६–१ गोलान्तरको जित निकालेको हो ।

af

जितसँगै समूह ‘आई’को शीर्ष स्थानको उसले १० खेलमा नै स्पष्ट जित निकाली ३० अंक बनाएको छ । सो खेलमा आफ्नो विजयी यात्रा कायमै राखेपछि प्रशिक्षक मार्टिनेजले आफ्नो टोली युरो कपको हकदार भएको दाबी गरे । ‘जे होस्, हामी युरोपियन च्याम्पियनसिप जित्न सक्छौं । हामी यसको हकदार हौं । यसका लागि हामीले अझै राम्रो गर्नुछ । यदि, यसो गरेमा हामीले सधैं उत्कृष्ट खेल खेल्न सक्छौं ।’

‘हामीले विश्व कपमा पनि राम्रो स्थान हाँसिल गरेका थियौं’, उनले थपे, ‘यस्तै नतिजालाई निरन्तरता दिन सकेमा युरो कपको उपाधि हाम्रो हो । अब हामीसँग ७ महिना छ यस कुरालाई सम्भव बनाउनका लागि । हामी युरोपियन च्याम्पियनसिपको हकदार हौं, हामीले नै उपाधि जित्छौं । तर, यो फुटबल हो, यहाँ केही कुरा त्यति सहज हुँदैन ।’

Loading...