fbpx

विराटनगरको विकास : काम नसकी भत्कियो सडक (भिडियोसहित)

खानेपानी र ढल मुख्य बाधक

यज्ञ अधिकारी
रंगेली ३ मंसिर । विकास निर्माणमा पुराना संरचना भत्काउनु स्वभाविक हो । निर्माणपूर्व भत्काउनु सामान्य भएपनि निर्माण नसकिँदै भत्कनुलाई सामान्य मान्न सकिँदैन । विराटनगरमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेको सडक भने निर्माण नसकिँदै भत्कन थालेका छन् ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडक भत्कन र भासिन थालेको हो । आयोजनाअन्तर्गत निर्माण भएका अधिकांश सडकमा ढलको ढकनी कालोपत्रे सडकभन्दा अग्ला छन् । ढलको च्याम्बर वरिपरि भाग धस्किएको छ । जसले दुर्घटनाको जोखिम बढेको छ ।

कतिपय स्थानमा बीच सडकमा राखिएको खानेपानी पाइप फुट्दा सडक भत्किन थालेका छन् । घरअगाडिको सडक १ वर्ष नटिक्ने बनेपछि स्थानीय आक्रोशित बनेका छन् । महानगर र ठेकेदारको लापरबाहीका कारण समस्या आएको स्थानीय प्रदीप माथेमा बताउँछन् । ‘आफू खुशी छ कस्ले कस्लाई टेर्ने,’ उनी भन्छन्, ‘निर्माण नसकिँदै सडक भत्कन्छ ।’ ढल, खानेपानी व्यवस्थित नगरी सडक कालोपत्रे भएर सडक भासिने, पाइप फुट्ने समस्या आएको स्थानीय श्याम गुरुङको गुनासो छ ।

पुरानो पाइप फेर्न नपाउँदा निर्माण सम्पन्न भएका सडकहरूमा समस्या देखिएकोे खानेपानी संस्थान विराटनगरका प्रमुख शैलेन्द्रकुमार साह बताउँछन् । खानेपानी वितरणका लागि बिछ्याइएका पुराना पाइप सडक बढ्ने क्रममा बीच भागमा परेका कारण समस्या आएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत भन्छन्, ‘त्रुटि छ’

विराटनगर महानगरपालिकाले पनि निर्माणको क्रममा त्रुटि भएको बताउँछन् । निर्माण पक्षले एक वर्षसम्म मर्मतसम्भार गर्नुपर्ने भएकोले विस्तारै सुधार हुने विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी बताउँछन् । क्षेत्रीय सहरी विकास आयोजनाको म्याद पनि सकिएका कारण पुनः थप गर्न लागिएको उनले बताए ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाईका प्रमुख इन्जिनियर भरतकुमार न्यौपानेले सडक बिग्रिएको स्थानमा ठेकेदारले मर्मत गरेपछि मात्र महानगरलाई हस्तान्त्रण हुने बताउँछन् ।

दुई वर्षमा ८० प्रतिशत काम

दुई वर्षअघि सुरु भएको क्षेत्रीय सहरी विकास आयोजनाको ८० प्रतिशत भौतिक काम पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाले कालोपत्रे ५३ प्रतिशत, ढलको काम ८८ प्रतिशत र सडक नाला निर्माणको काम सबै पूरा भएको आयोजना प्रमुख प्रमुख न्यौपानेले जानकारी दिए ।

सन् २०१७ नोबेम्बरमा सुरु भएको आयोजनाको सम्झौता सकिएकोले म्याद थप गर्ने थप्ने प्रक्रिया अघि बढेको न्यौपानेले बताए ।

विराटनगरको विकास : काम नसकी भत्कियो सडक, खानेपानी र ढल मुख्य बाधक

विराटनगरको विकास : काम नसकी भत्कियो सडक, खानेपानी र ढल मुख्य बाधक

Posted by Koshi Online on Tuesday, November 19, 2019

Loading...