fbpx

यस्ता छन् जाडोमा बदाम खानुका फाइदाहरू

विराटनगर, ४ मंसिर । जाडोको समयमा घाम तापेर बदाम खाँदा समय बितेको थाहा नै हुँदैन । ठिक्क मात्रामा (दिनको ४० देखि ५० ग्राम) नियमित बदामको सेवनले मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने गर्छ । बदाममा धेरै मात्रामा प्रोटिन, मिनरल्स, एन्टीअक्सिडेन्ट्स, भिटामिन ‘बी’ कम्लेक्स, रिवोफ्लोबिन, थियामिन, भिटामिन ‘बी’ ६ र भिटामिन ‘बी’ ९, फाइटोस्टेरोल, एन्टिअक्सिडेन्ट, आइरन, फोलेट, क्याल्सियम, म्यागनिज तथा जिंक पनि भरपुर मात्रामा पाइन्छ ।

यस्ता विभिन्न पोषक तत्वहरू शारीरिक तथा मानसिक वृद्धिका लागि अति नै आवश्यक मानिन्छ । बदाममा हुने क्यालसियम र भिटामिन ‘डी’ ले हड्डी तथा दाँतलाई मजबूत बनाउन मद्दत गर्दछ । शरीरमा हुने कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राखेर रगतमा हुने खराब कोलेस्ट्रोललाई कम गरी राम्रो कोलेस्ट्रोलको स्तरलाई बढाउन मद्दत गर्छ । नियमित रूपमा दैनिक बदाम खानाले ब्लड सुगर लेभललाई नियन्त्रण गरी मधुमेह हुने सम्भावना २१ प्रतिशतले कम गराउँछ ।

बदामले शरीरको तापक्रमलाई बढाएर ब्लड सर्कुलेसन राम्रो हुन्छ र मुटु स्वस्थ बनाई हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । बदाममा पाइने मानोसैच्युरेटेड र पोलिसैच्युरेटेड फ्याटका कारण मुटुसम्बन्धी बिमारीको सम्भावना कम हुने चिकित्सकहरूले बताउँदै आएका छन् । बदामको सेवनले शरीरलाई क्यान्सरसेलबाट लड्नको लागि शक्ति उत्पन्न गराउँछ र शरीरमा फैलिएको ट्युमरलाई नियन्त्रण गरी क्यान्सर हुनबाट जोगाउँछ ।

इनर्जीको राम्रो स्रोत मानिने बदाममा फाइबरको मात्रा प्रशस्त पाइने हुँदा बदाम खाँदा छिटै भोक लाग्दैन, तथा अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा जाग्दैन र यसले शरीरमा भएको अनावश्यक तौललाई नियन्त्रण गरी मोटोपनाको समस्या हुन दिँदैन ।

बदामले दिमागलाई स्वास्थ्य र तेज गराई स्मरणशक्तिलाई बढाऊछ । बदामले मूड सुधारेर डिप्रेशनको समस्यालाई पनि हटाउँछ । बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चाउरी पर्नबाट जोगाएर, अत्यधिक तेललाई निकालेर छालालाई नरम र चम्किलो बनाउँछ । बदामको सेवन गर्भवती महिला र शिशु दुवैलाई निकै फाइदा हुने गर्छ । दूध नपिउने, दूध पिउन मन नपराउने मानिसहरुका लागि बदाम खानु उत्तम विकल्प हुनसक्छ ।

Loading...