fbpx

टोटनह्यामद्वारा प्रशिक्षक पोचेटिनो बर्खास्त

एजेन्सी, ४ मंसिर । इंग्लिस क्लब टोटनह्याम हटस्परले आफ्ना प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । क्लबको खस्कँदो प्रदर्शनका कारण टोटनह्यामले प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अघिल्लो सिजन प्रिमियर लिगको तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको टोटनह्याम नयाँ सिजनमा अंक तालिकाको १४औँ स्थानमा छ । क्लबले अघिल्लो सिजनको अन्त्य र नयाँ सिजनको सुरुवात अत्यन्तै निराशाजनक रहेको बताउँदै क्लबका अध्यक्ष ड्यानियल लेवीले उनलाई बखास्त गरेको बताइएको छ ।

सन् २०१४ मा टोटनह्याम आएका उनले प्रिमियर लिग क्लबमा ५ वर्ष बिताए । उनकै नेतृत्वमा टोटनह्यामले अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । यद्यपि, उसले लिभरपुलसँग सो खेल हार्दै उपविजेतामा चित्त बुझाएको थियो । साउथह्याम्टनका पूर्वप्रशिक्षक पोचेटिनाले टोटेनहमलाई लिग कपको फाइनल खेलाउनुका साथै पहिलो सिजनमै तेस्रो बनाएका थिए ।

तर, क्लबको पछिल्लो प्रर्दशन निकै नाजुक थियो । उसले च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यन म्यूनिखसँग ७–२ गोलान्तरले हार ब्यहोरेको थियो । यसै कारण क्लबका अध्यक्षले उनलाई बर्खास्त गरेको बताइएको छ । अब ४७ वर्षका प्रशिक्षकको विकल्पको रुपमा जोसे माउरिन्होलाई हेरिएको छ ।

Loading...