fbpx

वडा अध्यक्ष हत्या आरोपमा फरार, कार्यवाहक अध्यक्ष घुससहित पक्राउ

विराटनगर, ३ मंसिर । घुस रकम लिँदै गर्दा मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साह रंगेहात पक्राउ परेका छन् । मंगलबार सडक स्तरोन्नत्तीका लागि ठेक्का दिन घुस मागेका साह घुसबापतको २१ हजार नगदसहित मंगलबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट रंगेहात पक्राउ गरेको हो । उनले दुई लाख रुपैयाँको योजना ठेक्का दिनका लागि ठेकेदारसँग २१ हजार घुस मागेका थिए । घुस मागेको उजुरी परेपछि साहलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपायोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले बताए ।

जहदा गाउँपालिका १ का अध्यक्ष प्रदीप यादव भने हत्या आरोपमा फरार छन् । यादवसहितको समूहले कुटपिटका कारण विराटनगर महानगरपालिका– १४ का समानन्द यादवको मृत्यु भएपछि वडा अध्यक्ष फरार भएका हुन् । समानन्द हत्या प्रकरणमा जोडिएका विराटनगर १४ का अध्यक्ष बलदेव यादव र विराटनगर १८ का अध्यक्ष सञ्जय साहसहित ९ जना फरार छन् ।

विवाहको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१४ का समानन्द यादवमाथि गत जेठ ३२ गते गरिएको कुटपिट भएको थियो । उपचारका क्रममा उनको असार २७ गते मृत्य भएको थियो । घटनापछि वडा सदस्य साहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएर उनी फरार भएका थिए ।

Loading...