fbpx

काभानीले मेस्सीलाई ‘कुस्ती खेल्ने हो’ भनेपछि….

एजेन्सी, ३ मंसिर । सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ गोलको बराबरी खेले । इजरायलको टेल एभिभस्थित ब्लुमफिल्ड स्टेडियममा भएको सो खेलमा उरुग्वेले बनाएको सुरुआती अग्रता उल्टाउँदै अर्जेन्टिनाले बराबरी खेल्यो ।

इडिन्सन काभानीले खेलको ३४औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि उरुग्वेलाई अग्रता दिलाए । खेलको ६३औं मिनेटमा सर्जियो अगुएरोको गोलमा अर्जेन्टिना १–१ गोलको बराबरीमा फर्कियो । खेलको ६८औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै उरुग्वेलाई पुनः अग्रता दिलाए ।

तर, खेलको इन्जुरी समयमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो, जसमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए । र, खेल २–२ गोलको बराबरीमा सकियो । उक्त खेलमा अर्जेन्टिनी कप्तान मेस्सी र काभानीबीच भनाभन भएको थियो ।

जसमा काभानीले मेस्सीलाई कुस्ती खेल्ने हो भनेर सोधेका थिए । अर्जेन्टिनी मिडिया ‘ओले’का अनुसार काभानीले मेस्सीलाई ‘के तिमी मसँग कुस्ती गर्ने हो ?’ भनेर सोधेका थिए । उनीहरूबीच भनाभन परेपछि काभानीले पहेँलो कार्डसमेत पाएका थिए । काभानीले खेलको ३९औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

मेस्सीमाथि फल भएपछि विवाद भएको थियो । काभानीको प्रश्न सुनेपछि रुष्ट बनेका मेस्सीले उत्तरमा ‘तिमीले जहिल्यै भन्छौं त्यहिबेला म तिमीसँग कुस्ती खेल्न तयार छु’ भनेर प्रतिक्रिया जनाएको पत्रिका ओलेले बताएको छ ।

दक्षिण अमेरिकी फुटबलमा विकसित राष्ट्रद्वय अर्जेन्टिना र उरुग्वेबीचको यो भेट १ सय ९८औं भेट थियो । यी दुई टोली पछिल्लो पटक सन् २०१७ को सेप्टेम्बरमा आमनेसामने भएका थिए । विश्वकप छनौटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै त्योभन्दा अघिल्लो खेलमा भने अर्जेन्टिनाले जित निकालेको थियो । २०१६ को सेप्टेम्बरमा भएको विश्वकप छनौटकै खेलमा अर्जेन्टिनाले उरुग्वेविरुद्धको १–० गोलको जित निकालेको हो । त्यसअघि सन् २०१५ मा कोपा अमेरिकाको दौरान पनि अर्जेन्टिनाले १–० जित निकालेको छ । त्यसअघिको विश्वकप क्वालिफिकेसमा उरुग्वेले ३–२ गोलको जित निकालेको छ । उक्त खेल सन् २०१३ मा भएको थियो ।

Loading...