fbpx

निन्द्रामा झस्किने समस्यालाई यसरी हटाउनुहोस्

विराटनगर, २ मंसिर । मानिसहरू प्रायः निन्द्राको समयमा झस्किने तथा तर्सेर ब्यूँझिने गर्दछन् । मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार निद्रामा झस्किने समस्या के कारणले हुन्छ भन्ने विषयका बारेमा आजसम्म कुनै पनि वैज्ञानिक कारण पत्ता लगाउन सकेको छैन । तर, निन्द्रामा झस्कने समस्या धेरैजसो तनाव तथा धेरै सोचेको करण हुने गरेको पाइएको छ ।

नियमित रूपमा निद्राको बीचबीचमा ब्यूँझिने हुँदा डर लाग्ने, उठ्दा पसिनै–पसिना हुने र शरीर कमजोर भएर सास फेर्न गाह्रो भएको महसुस हुन्छ । निद्रामा झस्कने समस्याबाट बच्नका लागि सुरुमा के कारणले गर्दा झस्किने समस्या भएको भन्ने कुरा पत्ता लगाउन जरुरी हुन्छ । यसको कारण पत्ता लगाएर उपचार सुरु गरेमा निद्राबाट झस्कने समस्या कम भएर जान्छ । निद्रामा झस्किने समस्याबाट बच्नका लागि सुत्दा मानसिक तनाब लिएर कहिले पनि सुत्नु हुँदैन ।

तनाब छ वा टाउको दुख्ने गर्छ भने सुत्नुअगाडि नुहाएर सुत्नु राम्रो हुन्छ । सुत्ने खाटलाई सुत्नको लागि मात्र प्रयोग गर्नुपर्छ । दिनभरि खाटमै बस्ने, पढ्ने, खाने र त्यहीं सुत्ने गर्नाले पनि निद्रामा समस्या उत्पन्न हुन्छ । दैनिक सुत्ने तालिका बनाउने, एउटै समयमा प्रशस्त मात्रामा निन्द्रा पुग्ने गरी सुत्ने र उठ्ने गर्नु पर्छ । सुत्नुअगाडि मोबाइल चलाएर सुत्ने बानीलाई त्याग्नुपर्छ । साथै सुत्नुअगाडि धेरै पानी पिएर सुत्नु हुँदैन, यसले निन्द्रा बिगार्न सक्छ ।

सुत्ने कोठाको लाइट तथा भित्तामा प्रयोग गरिएको रंग धेरै चम्किलो हुने हुँदा पनि निद्रामा समस्या आउन सक्ने भएकाले सुत्दा बत्ति निभाएर र कोठामा हल्का खालको रंगको प्रयोग गर्नु पर्छ । दिउँसो सुत्ने बानी हटाएर आफूलाई दिनभर काममा व्यस्त राख्ने, भविष्य तथा पारिवारिक तनावबाट मुक्त रहन आफूलाई मन पर्ने काममा ब्यस्त हुने गर्दा निन्द्रामा झस्किने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
सुत्नुअगाडी धेरै मात्रामा कफी, रक्सी, लागूपदार्थको सेवन तथा निद्रा लाग्ने औषधिको सेवन गर्नु हुदैन । राति सुतेको बेलामा झस्केर ब्यूँझिएमा उठेर लामो सास लिएर चिसो हावा र पानी पिएर यो केवल दिमागको खेल हो भनेर आफूलाई बुझाउनु पर्छ । र, बिस्तारै ठीक भएपछि सुत्नु पर्छ । सुत्न गाह्रो भएमा किताब पढ्ने बानी गर्नु पर्छ ।

Loading...