fbpx

प्रदेश १ मा हिउँदभरि रासायनिक मल अभाव नहुने

यज्ञ अधिकारी
रंगेली, २ मंसिर । यसपालिको हिउँदमा गहुँ र तरकारी खेती गर्ने कृषकहरूले रसायनिक मलको अभाव खेप्नु पर्नेछैन । कृषि सामग्री कम्पनी प्रदेश १ ले यसपालिको हिउँदे सिजनका लागि आवश्यक मल आयात गरेर भण्डारण गरिसकेकोले कृषकहरूले रसायनिक मलको अभाव खेप्नु नपर्ने भएको हो ।

‘प्रदेशभरिका किसानको मागअनुसार हिउँदभरि आवश्यक मल उपलब्ध गराउन हामी सक्षम छौँ,’ कृषि सामग्री कम्पनीका प्रादेशीक प्रमुख राजेन्दबहादुर कार्कीले भने । प्रमुख कार्कीका अनुसार कम्पनीसँग हाल ६ सय टन डिएपी, ७ हजार ५ सय टन युरिया र २५ सय टन पोटास मौज्दात छ । त्यसका अलावा थप मल भारतबाट आउने क्रममा पनि रहेको छ ।

कार्यालयले प्रदेश १ का १४ जिल्लाबाहेक प्रदेश २ का दुई जिल्लामा पनि रासयनिक मल निर्यात गर्ने गरेको छ । प्रदेश २ का लहान र राजविराजमा पनि मल पठाउने गरिएको कार्कीले बताए । कार्यालयले सहकारीको माध्यमबाट किसानलाई मल उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय बिउबिजनसँग एकीकरण भएकोले कम्पनीले अहिले बिउको पनि बिक्रि वितरण सुरु गरेको छ । ‘अहिले हामीसँग मल पर्याप्त रहको छ,’ काकीले भने, ‘बरु बिउ भने किसानको मागअनुसार पूरा गर्न सकेका छैनौँ ।’

कम्पनीले गहुँ, मकै, जौघास, मुसुरी, धानलगायतका बालीको बिउ किसानलाई उपलब्ध गराउँदै आएको छ । अहिले गहुँको बिउ खोज्ने किसानहरूसँग बढी रहेको उनले बताए । धानमा किसानले धोका पाएकोले गहुँको बिउ खोज्ने किसानको संख्या बढेको हुन सक्ने उनको तर्क छ । यद्यपि, निजी क्षेत्रबाट पनि पर्याप्त बिउ उपलब्ध हुने भएकोले ठूलो समस्या भने नभएको उनले बताए ।

Loading...