fbpx

श्रीलंकामा सिकाइको संयोग

writter
डा. राजेन्द्र उप्रेती, कोलम्बो

एको असोज १० गतेको बिहान म आफ्नै धुनमा मस्त थिएँ । दसैं आउन लागेको थियो । भोलिपल्ट सोह्रश्रादको तिथी थियो । त्यो दिन एकछाकी भएकोले बिहानै नुहाइधुवाइ सकेर कपाल काटेर आएँ । चियापानपछि सधैंझैं मेरा इमेलहरू र सामाजिक सञ्जालका गतिविधिहरू हेर्दै थिएँ । साथी सुमन सिजापतीको एउटा इमेल आएको रहेछ । उहाँले श्रीलंकाको महावली विकास आयोजनाको एउटा अनुसन्धान समूहमा रहेर काम गर्ने एउटा अवसरको बारेमा मेरो अनुकूलताको बारेमा सोधेर पठाउनु भएको रहेछ, अनी तुरुन्त सामेल हुनुपर्ने भनेर ।

मैले गएको वर्षदेखि कतै अन्त जानेबारे सोचेको तथा प्रयास गरेकै थिइँन । त्यसैले एक दिन त्यतिकै बसेँ । भोलिपल्ट श्रादकर्म पुरा गरेपछि त्यो अवसरको बारेमा विस्तृत विवरण सोधी पठाएँ । त्यहाँ मेरो भूमिकाको बारेमा जानकारी पाएपछि आफ्नो सिकाइँ बढाउने तथा एउटा कौतुहलताले भरिएको नयाँ देशको बारेमा नजिकबाट जान्ने मौकाको सदुपयोग गर्ने उदेश्यका साथ दसैंको तुरुन्तै पछाडी म त्यो कामको लागि श्रीलंका जानसक्ने जानकारी पठाइदिएँ ।

उनीहरूले मेरो वायोडाटा मागे, जुन मैले पठाइदिएँ र त्यो सम्बन्धित निकायबाट स्वीकृत भयो । त्यो जानकारीपछि मैले फ्लाइट बुक गरेँ तर दसैं सुरु भइसकेकोले मेरा अरु प्रक्रिया पूरा गर्न समस्या भइरहेको थियो । भिसाको लागि अनलाइन फर्म भरेर प्रक्रिया पूरा गर्न बैंकहरू सबै बन्द भएकाले अनलाइन भिसा पेमेन्टको लागि समस्या भइरहेको थियो, जुन दसैंको भोलिपल्ट भतिज मञ्जिलको भिसाकार्डबाट सम्भव भयो । फर्म बुझाएको केहीछिनमा मेरो अनलाइन भिसा प्राप्त भयो । म दसैंसँगसँगै आफ्नो तयारीमा लागेँ । किनकी अर्को दिन मैले कोलम्बो यात्राको लागि काठमाडौँ पुगिसक्नुपर्ने थियो ।

श्रीलंका मेरो लागि नयाँ देश भएकोले मनभरि उत्सुकता बोकेर काठमाडौँ नयाँदिल्ली हुँदै अक्टोबर १३ तारिकको बिहान २ बजे तिर कोलम्बो आइपुगेँ । नयाँ ठाँउ, नयाँ मान्छे, उत्सुकताले भरिएको मेरो मन र आँखाले पहिलो नजरमा सलल बगेका सफा सडकहरू र असल मान्छेहरूको सामिप्य पायो । टिमका साथीहरू सबै असल अनि अनुभवी रहेछन् । सोचेँ, यो नयाँ देश र नयाँ मान्छेहरूसँगको सामिप्य मलाई पक्कै पनि कुनै उद्देश्यको लागि जुरेको होला । मैले कवोल गरेका मेरा आफ्ना जिम्मेवारीहरू पूरा गर्दैगर्दा मेरो मनमा एउटा कौतुहलता सधैं–सधैं खेलिरहेको थियो । म श्रीलंका किन आएको होला ? यो अवसर बिनाप्रयास मलाई नै किन जुर्‍यो होला ?

afs

श्रीलंकाका विभिन्न सहरहरू र ग्रामिण परिवेशहरू छिचोल्दै जाँदा केही दिनअगाडि म मटाले जिल्लाको केन्डी जाफना हाईवेमा रहेको ‘दाम्बुल्ला डेडिकेटेड इकोनोमिक सेन्टर’ (एउटा ठूलो कृषि थोक बजार) पुगेको थिएँ । श्रीलंकामा उत्पादन हुने तरकारी र फलफूलहरू तथा विदेशबाट आयात गरिने फलफूल र तरकारीको थोक बजारको रूपमा विकास गरिएको त्यो बजार हेरेपछि सानो भएपनि विराटनगरमा बनाएर चल्ने तरखर गर्दैगरेको हाम्रो कटहरी तरकारी तथा फलफूल थोक बजारलाई सम्झेँ मैले । सबै मिलेर लागिपरियो भने हाम्रो थोक बजारहरू पनि देशकै आर्थिक केन्द्रको रूपमा रुपान्तरण हुनसक्ने रहेछन् । दाम्बुलाको यो बजारले मलाई झकझकाइरहनेछ । जहाँ श्रीलंकाभरिका हजारौँ किसानहरूले उत्पादन गरेका कृषि उत्पादनहरू बिक्रीवितरण हुने गरेका छन् ।

af

यहाँ दैनिक सयौँ गाडी तरकारी र फलफूल आउने–जाने हुने रहेछ । बजारबाहिर पर्याप्त पार्किङको ठाउँ, व्यापारीहरूको लागि १ सय ५० भन्दा धेरै पसलहरू र बस्ने ठाउँहरू, सुरक्षाको भरपर्दो व्यवस्था यहाँका आकर्षण रहेछन् । श्रीलंकनहरू यो बजारलाई गर्वको रूपमा प्रस्तुत गर्ने रहेछन् । त्यहाँ केही व्यापारीहरू भेटिए जो सुरुमा आफ्ना कृषि उत्पादन बेच्नका लागि यो बजार आउँदा रहेछन् र बिस्तारै बजार बुझ्दै गएपछि उनीहरू अहिले आफ्नो मात्र होइन आफनो गाँउकै लागि संकलनकर्ता भएर गाँउलाई यो बजारसँग जोडेका रहेछन् र उत्पादकसँगै व्यापारी पनि बनेका रहेछन् । यो विकास र अवसर बजारहरूले दिने रहेछन् ।

ag

यसरीनै गएको शुक्रबार संयोगले एउटा साथीसँग श्रीलंकाको सबैभन्दा ठूलो र कृषिका विभिन्न क्षेत्रमा काम गरिरहेको निजीक्षेत्रको एउटा कम्पनीमा पुग्ने र उनीहरूका कुरा सुन्ने मौका जुर्‍यो । ‘हेलिज एग्रिकल्चर होल्डिङ लिमिटेसन’ श्रीलंकामा मुख्य कार्यालय रहेर संसारका विभिन्न देशमा काम गरिरहेको रहेछ र कृषि उत्पादन, प्रशोधन, प्रविधि विस्तार र कृषि औजार उपकरण, सामाग्रीहरूको बिक्री र कृषि वस्तुहरूको आयात–निर्यात जस्ता सबै क्षेत्रमा यसले काम गरिरहेको रहेछ ।

sadg

यो कम्पनीका कृषि औजार तथा उपकरण महाशाखाको नेतृत्त्व गर्ने एउटा निर्देशक एम.ए. राजपसँग कृषिका विभिन्न पक्षमा छलफल भयो । उनका अनुसार यो कम्पनीले आफ्नो वार्षिक कारोबार एक अर्व डलरभन्दा धेरैको गर्ने रहेछ । संसारका १२ देशमा आफ्नो कार्यालय रहेको यो कम्पनीले यसै वर्षदेखि बंगलादेशमा पनि आफ्नो कार्यालय विस्तार गरेको रहेछ । यो कम्पनीको मुख्य कार्यालयमा पुगेपछि, त्यहाँ काम गरिरहेका सयौँ मानिसहरू देखेपछि र यसका नेतृत्त्वमा रहेका केही उच्च अधिकारीहरूसँगको छलफलपछि मलाई मैले केही वर्ष अगाडिदेखि नेपालमा परिकल्पना गरिरहेको एउटा कृषिमा कामगर्ने नमुना कम्पनीको साकार रूप भेटेको महसुस भयो ।

नेपालमा संघीय लोकतन्त्र बहाली भएपछि र प्रदेश तहका मन्त्रालय, कार्यालयहरु स्थापना भएपछि प्रदेश १ लाई केन्द्रबिन्दुमा राखेर मैले प्रदेश १ मा काम गरिरहेका जीवन विकास समाजका योगेन्द्र मण्डल, नेपाल कृषि कम्पनीका वीरेन्द्र बस्नेत र नेपाल बहुउद्देश्यीय सहकारी संस्था काँकरभिट्टाका रामचन्द्र उप्रेतीसँग आ–आफ्ना क्षेत्रमा कृषिका सबै पक्षमा काम गर्नेगरी निजी सरकारी सहकार्यमा केही कम्पनीहरू सुरु गर्न छलफलहरू गरिरहेको छु । केही सकारात्मक आशाहरू पलाउँदैछन् । हामीले गर्नैपर्ने धेरै छ । तर, श्रीलंकाको हेलिज एग्रिकल्चरको भ्रमणपछि मेरो परिकल्पना सम्भव छ भन्ने विश्वास अझ दृढ भएको छ । हामीले हाम्रा प्रयासहरू अझ बढाउँदै लैजानका लागि ममा उत्साह थपिएको छ ।

हामी अपार सम्भावनाका भण्डारमा बसेर त्यो प्राप्त गर्ने अभियान सिर्जना गर्नतिर लाग्नेभन्दा अनावश्यक तर्क–वितर्क र सधै कागजी नितिनियमको झमेलामा अड्किएर बसेका छौँ । संसारका कुनैपनि परिवर्तनहरू र प्राप्तिहरू कागजी ठेलीमा लेखिने कार्यविधिबाट आजसम्म प्राप्ति भएका छैनन् र भोलि पनि हुँदैनन् । परिवर्तनले सधैँ पुरानो बाटोबाट प्राप्ति नभएकालेनै अलग नयाँ बाटो र हिँडाइ खोज्छ तर हामी सधैँ पुरानै बाटो पुरानै हिँडाइबाट नयाँ लक्ष्यको सपना देख्छौँ । त्यसैले हामी कतै पुग्दैनौँ । हामीसँग वास्तविकतामा आधारित सपनाहरू र त्यसको प्राप्तिका लागि चाहिने एक–अर्काप्रतिको विश्वास, पर्याप्त समर्पण र सहकार्य हुनुपर्छ । बल्ल हाम्रा सपनाहरू साकार हुनेछन् । श्रीलंकाको भ्रमणले मेरा सपनाहरू अझ दृढ भएका छन् र मेरा उत्साहहरू अझ बढेका छन् । यो संयोग जुटाउन योगदान गर्नु हुने सुमन सिजापतीसहित सबैप्रति आभारी छु । चाँडै नेपालमा भेट र सहकार्यको आशा गर्दै आज बिदा ।

(श्रीलंका भ्रमणमा रहेका डा. राजेन्द्र उप्रेती, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय¸ प्रदेश १ विराटनगरमा कार्यरत महाशाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता हुन् ।)

Loading...