fbpx

अफिसमा धेरै समय कुर्सीमा बसेर काम गर्ने व्यक्तिको सोच्ने र सम्झने शक्तिमा कमी

विराटनगर, २ मंसिर । लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्ने मानिसहरूको मस्तिष्कमा रगतको सञ्चार राम्रोसँग हुँदैन । मस्तिष्कमा राम्रोसँग रगतको सञ्चार नहुँदा सोच्ने र सम्झने शक्तिमा कमी आउने एक अध्ययनले पत्ता लगाएको छ ।

७ देखि ८ घण्टासम्म दिनभरी कुर्सीमा बसेर काम गर्नेहरूमाथि गरिएको उक्त अध्ययनको परिणाम निकै घातकसमेत हुन सक्ने निष्कर्ष निस्किएको छ । दिनभर अफिसको कुर्सीमा बसेर काम गर्ने व्यक्तिहरूको मस्तिष्कमा राम्रोसँग रगत सञ्चार नभएको पाइएको छ । र, मस्तिष्कका कोशिकालाई आवश्यक पर्नेअक्सिजन तथा पोषक तत्वहरू रक्त सन्चारबाट नै मिल्ने हुँदा एकै ठाउँमा बसेर काम गरिरहँदा यो सबै प्रक्रियामा समस्या आउने हुन्छ ।

लिभरपुल जोन मोरेस विश्विद्यालयमा गरेको उक्त अध्ययनले रगतको प्रवाहमा समस्या देखिँदा सोचने तथा सम्झने शक्तिमा कमी आउनुका साथै एकै ठाउँमा बसिरहँदा मस्तिष्कसँग सम्बन्धित अन्य समस्याहरू पनि देखिन सकिने वैज्ञानिकहरुले बताए । विश्वविद्यालयको जर्नल जर्नल अफ एप्लाइड फिजियोलोजीमा छापिएको रिपोर्टअनुसार लामो समय एकै ठाउँमा बस्दा दिमागमा मात्र नभएर हाम्रो स्पाइनल कर्ड, घाँटी, कम्मर, ढाड तथा खुट्टामा पनि समस्या देखिने सक्ने निष्कर्ष निकालेका थिए ।

१५ जना व्यक्तिलाई समावेश गरेर गरिएको अध्ययनमा ती व्यक्तिहरूको मस्तिष्कमा रगत सञ्चार कम भएको देखाएको थियो । तर, जब हरेक घण्टा उनीहरुलाई २ मिनेटका लागि हिँड्न लगाइयो, उनीहरूको मस्तिष्कमा रगत सञ्चार बढेको देखियो । यो अध्ययनलाई नेतृत्व गरेकी सोफी कार्टरले अफिसमा दिनभरि कुर्सीमा बसेर काम गर्ने मानिसहरुलाई कम्तिमा पनि एकएक घण्टामा ब्रेक लिएर २ मिनेटका लागि हिँड्न सुझाव दिएकी छन् ।

Loading...