fbpx

सागमा नेपालको लक्ष्य ५० स्वर्ण

काठमाडौं १ मंसिर । नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता आयोजनासँगै नेपालले प्रदर्शनमा सुधार ल्याउने अपेक्षा गरिएको हो ।

नेपालले अहिलेसम्म आठौँ साफमा सबैभन्दा ३१ वटा स्वर्ण जितेको छ । यो नै नेपालको उत्कृष्ट नतिजा हो । सन् १९९९ मा घरेलु मैदानमा भएको साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो । नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो । कराते र तेक्वान्दोबाट समान १४/१४ स्वर्ण जितेको थियो । नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ कांस्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवालले घरेलु मैदानमा आयोजना गरिने १३औँ सागमा ५० स्वर्णपदक जित्दै सागलाई ऐतिहासिक बनाउने लक्ष्य लिएको बताए । साग तयारीका लागि भलिबल, कराते, तेक्वान्दोलगायत २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाइएको छ । नेपालमै रहेका अधिकांश खेलका खेलाडीलाई विदेशी प्रशिक्षक ल्याएर प्रतियोगिताका लागि तयारी भइरहेको छ ।

तेह्रौँ सागमा बिच भलिबल र थ्री अन थ्री बास्केटबलसमेत गरी २९ खेल समावेश गरिएको छ । खेलमा तीन हजारभन्दा बढी खेलाडी सहभागी हुने छन् । मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिता काठमाडौँसहित पोखरा र जनकपुरमा आयोजना हुनेछ ।

काठमाडौँमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । फुटबल, भलिबल र क्रिकेटका खेल पोखरा र काठमाडौँमा हुनेछन् । प्रतियोगितामा कुल तीन सय २४ स्वर्ण, तीन सय २४ रजत तथा चार सय ८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

सरकारले १३औँ सागका लागि झण्डै ४ चार अर्ब बजेट छुट्टयाएको छ । पूर्वाधार निर्माणका लागि १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि ३ अर्ब ६५ करोड रुपैयाँ बजेट रहेको छ ।

२०७२ मा गएको भूकम्पका कारण क्षति भएको खेल मैदान निर्माण तीव्र गतिमा भइरहेको छ । यूवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

Loading...