fbpx

सिरियामा रुसी आक्रमण : ९ जनाको मृत्यु

बेरुत १ मङ्सिर । सिरियामा रुसी सेनाले गरेको एक हवाई कारबाहीमा ९ जनाको मृत्यु भएको छ । सिरियाली सरकारको पक्षमा रहेको रुसी सेनाले इडलिबमा जिहादी अतिवादी समूहमाथि हमाला गरेको हो ।

सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ ।

इडलिबको दक्षिणी अल–मालाजा गाउँमा ५ जनाको मृत्यु भएको छ । यस्तै पूर्वी साराकेब नगरमा ४ जनाको रुसी फौजको आक्रमणमा मृत्यु भएको हो । आक्रमणमा थुप्रै सर्वसाधारण घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।

पूर्व अल–कायदा लडाकू आबद्ध विभिन्न समूहको नियन्त्रणमा रहेको इडलिब क्षेत्रमा रुसी फौजले अक्रमण गरेको हो । इडलिब क्षेत्र सिरियाली राष्ट्रपति बसार अल–अस्सादप्रति बफादार सिरियाली सेनाका लागि अझै पनि टाउको दुखाईको विषय बनेको छ । इडलिबमा शान्तिपूर्ण तबरबाट समाधान निकाल्न रुसले गत अगस्टदेखि युद्धविराम पनि गरेको छ ।

सन् २०११ देखि शुरु भएको सिरियाली गृहयुद्धमा हालसम्म कम्तीमा तीन लाख ७० हजारको मृत्यु भएको छ ।

Loading...