fbpx

दिङ्लाको पाठशालामा पुनः संस्कृत अध्यापनको माग

काठमाडौं १ मंसिर । विक्रम सम्बत् १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्द अधिकारीले स्थापना गरेको संस्कृत पाठशालामा पुनः संस्कृत अध्ययन अध्यापनको वातावरण बनाउन माग गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा सहभागीले १२ वर्षे द्वन्द्वका क्रममा पठनपाठन बन्द गरिएको संस्कृत फेरि पढाउन शुरु गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शिक्षा र संस्कृतिलाई परिवर्तन आत्मसात गर्ने गरी अघि बढाइनुपर्ने बताए । षडानन्दले चेतनाको ज्योति शिक्षामार्फत छरेकाले त्यसलाई पुनःस्थापित गरिनुपर्ने उनको भनाइ थियो । प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले षडानन्दले सौर्यशक्तिको उपासना गरी दिङ्लाबाट विश्वभर अध्यात्मको ज्योति जगाएकामा हाल निभेको ज्योतिलाई पुरानै स्वरुपमा फर्काउने महात्माको आवश्यकता रहेको बताए । ।

प्रदेश नं १ का प्रदेशसभा सदस्य राजेन्द्र राईले क्रियात्मक ज्ञान दिनसकेमात्र संस्कृत भाषा फेरि पढाउन सकिने भएकाले यसतर्फ सोच विचार गर्न आह्वान गरे । जातजातिका भाषा पनि सो विद्यालयका पढाइनुपर्ने उनको माग थियो । षडानन्द नगरपालिकाका नगरप्रमुख वीरबल राईले चालू वर्षको नीति तथा कार्यक्रममा संस्कृत भाषालाई पुनर्जीवन दिने विषय समेटिएकाले संस्थापकको चाहना अनुसार यसै वर्षदेखि अध्ययन अध्यापन शुरु हुने प्रतिबद्धता जनाए ।

षडानन्द प्रतिष्ठानका अध्यक्ष चेतोनाथ गौतमले संस्कृत भाषामा भएका ज्ञानगुनका कुरा बाहिर आउन् भनी पुनः पठनपाठनको माग गरिएको बताए । कार्यक्रममा प्रा डा गोविन्दमानसिंह कार्की र यादव चापागाईंले बालागुरु षडानन्दले देश एवं समाजका लागि पु¥याउनुभएको योगदान समेटेर कार्यपत्र प्रस्तुत गरे ।

जनस्तरबाट खुलेको नेपालकै पहिलो संस्कृत पाठाशालामा २०५४ मा पहिलोपटक आक्रमण भएको थियो । विसं २०५८ कात्तिकमा भएको दोस्रोपटकको आक्रमणमपछि संस्कृत पठनपाठन बन्द भएको थियो । दिंगलालाई उत्तरकाशी, पूर्वको वृन्दावन जस्ता नामले पनि चिनिन्छ ।

Loading...