visit-nepal

यसकारण कालापानी र लिपुलेक नेपाली भूमि हो

dsf
आर.सी. अधिकारी

लिपुलेक, कालापानी, लिम्पियाधूरालगायत क्षेत्रको नेपाली भूमि भारतले आफ्नो नक्शामा राखेको छ, यो नेपालको लागि आपत्तितजनक विषय हो । सुगौली सन्धिले तोकेको नक्शालाई नै भारतले आधिकारिक मान्नुपर्ने हो तर यसो गरेको पाइँदैन र बिनाप्रमाण भारतले नक्शा सार्वजनिक गरेको छ ।

लिम्पियाधूरालाई महाकाली नदीको मुहान र महाकालीलाई नेपाल–भारतको सीमा मान्नासाथ लिपुलेक भञ्ज्याङ र कालापानी स्वतः नेपालको भन्ने इतिहासमा उल्लेख छ । ‘प्रिलिमिनरी स्केच अफ नेपाल एन्ड द कन्ट्रीज एडज्वाइनिङ टु द साउथ वेस्ट एन्ड इस्ट’ शीर्षकमा सन् १८५६ अप्रिल २४ मा भारत सरकारले प्रकाशित गरेको यो नक्शामा पनि लिम्पियाधूरालाई नै महाकाली नदीको उद्गमस्थल भनेर प्रस्टै लेखिएको छ । त्यसैले लिपुलेक नेपालको एकलौटी भूमि हो ।

सन् १९६२ मा भारत र चीन युद्ध भएका बेला कालापानी क्षेत्रमा सैनिक क्याम्पहरू खडा गरी लिम्पियाधूरा–कालापानीमा अतिक्रमण शुरु गरे भनिएको भएपनि सन् १९५९ देखि नै कालालानीमा भारतीय प्रहरीहरूको क्याम्प मात्र रहेको थियोे । त्यसपछि सुगौली सन्धिले स्थापित गरेको कालीनदीलाई कुटीयान्दी भनी नामाकरण गरेर सन् १९७९ मा लिम्पियाधूरा–कालापानी भारततर्फ परेको देखाइ भारतले अतिक्रमण गरेको पाइन्छ ।

भारतले जारी गरेको नयाँ नक्साले नेपालको सार्वभौमिकतामा आँच पुगेको हुनाले नेपाल सरकारले राजनीतिक र कूटनीतिक तहबाट समस्या समाधान गरिनुपर्छ । लिम्पियाधूराबाट बग्ने कालिनदीले काटेको बिन्दु नै दुई देशको सीमाना हो । भारतको अतिक्रमणविरुद्ध राजनीतिक दल, नागरिक समाजका साथै सबै एकजुट हुनपर्ने आवश्यकता वर्तमान अवस्थामा देखिन्छ ।

मोदी सरकारले ३१ अक्टोबरदेखि भारतको नक्शा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधूरा क्षेत्रको झण्डै ३ सय १० वर्ग किलोमिटर क्षेत्रफल र कालापानी क्षेत्रको ६२ किलोमिटर क्षेत्रफल आफ्नो नक्शामा समावेश गरेको छ । सुगौली सन्धिद्वारा निर्धारित सीमा रेखा फेरबदल हुने गरी (सारदा र टनकपुर बाँध निर्माणमा सट्टापट्टा भएको जमिनबाहेक) नेपाल ब्रिटिस इन्डिया र स्वतन्त्र भारतबीच अरू कुनै सम्झौता गरेको छैनन् ।

तर, महाकालीको उद्गमस्थल लिम्पियाधूरादेखि लिपुलेकसम्मको ३ सय ८५ वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको छ । ऐतिहासिक तथ्य प्रमाण, नाप नक्सा, जलविज्ञानको आधारमा महाकालीको उद्गमस्थल लिम्पियाधूरा पूर्व, कालापानी, लिपुलेखदेखिको सम्पूर्ण भू–भाग नेपालको हो । लिम्पियाधूरा महाकालीको उद्गम देखाउने नाप नक्शा, तथ्य, प्रमाण, पत्राचार, तिरोतिरान, लालमोहर, इस्तिहारहरू प्रमाणका रूपमा रहँदारहँदै पनि भारतले महाकाली नदीको मुहानबारे भ्रम सिर्जना गरी भारतले लिम्पियाधूरा पूर्वको ३ सय ८५ वर्ग किलोमिटर भू–भाग अतिक्रमण गरेको छ ।

भारतले लिम्पियाधूरा र लिपुलेक क्षेत्र कब्जा गरी चीनसँगको सीमा व्यापार, दुवै देशको बासिन्दाको तीर्थाटन, अन्य आदानप्रदानका माध्यमबाट आपासी विश्वासलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने, सीमालाई सहकारिता र विनिमय पुलका रूपमा विस्तार गर्ने तथा अन्य सामरिक महत्त्वका महत्त्वपूर्ण स्वार्थ पूरा गर्ने जबरजस्ती गरी आफ्नो नक्सामा समावेश गरेको छ । कालापानी र लिम्पियाधूरा क्षेत्र फिर्ता ल्याउन सरकारले दह्रोसँग खुट्टा टेक्नुपर्ने हुन्छ । परिचयपत्रबाट आवतजावत गराउनुपर्छ, खुला सीमा बन्द गरिनुपर्छ ।

सीमाको समस्या सचिवस्तरीय नभएर नेपाल र भारतका प्रधानमन्त्रीबीच ‘वान टु वान’ छलफल हुनु पर्छ र छलफल पारदर्शी र निष्पक्ष हुनु आवश्यक छ । सचिवस्तरीय छलफल टालटुले माध्यम बाट यो समाधान हुन सक्दैन । नक्सा समेटिएका नेपालका दस्ताबेजहरूसमेत सुरक्षित राखिनुपर्दछ । भारतले केही गर्दा पनि टेरेन भने अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ ।

नेपालको सार्वभौमिकताभित्र पर्ने कालापानी, लिपु र लिम्पियाधुरा क्षेत्रको सार्वभौमिकतामा, राष्ट्रिय अखण्डता र सार्वभौमिकताविपरीत भारतले आफ्नो नक्सामा समावेश गर्नु आपसी भाइचारा र पञ्चशीलको सिद्धान्तविपरीत कार्य हो । तसर्थ, नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप कुनै पनि हालतमा खारेज हुनुपर्छ । यस विषयमा सत्यतथ्य के हो भन्नेबारे नेपाल सरकारको समेत औपचारिक धारणा आउन जरुरी छ । साथै, समस्या समाधानका लागि भारतसँग कूटनीतिक प्रयास थालिनुपर्छ ।

Loading...