fbpx

१०० डिग्रीमा पकाइसकेको मासुबाट बर्डफ्लू सर्ने सम्भावना हुँदैन

विराटनगर, १ मंसिर । महामारी फैलिएर मानिसको ज्यानसमेत लिन सक्ने बर्डफ्लूको संक्रमण चराबाट मानिसमा सर्ने रोग हो । बर्डफ्लूले महामारी फैलाउनुका साथै उक्त रोगबाट संक्रमित भएको चराको मासु खाँदा वा सम्पर्कमा आउँदा मानिसको ज्यानसमेत लिन सक्छ । तर, पछिल्लो समय मानिसबाट पनि मानिसमा बर्डफ्लू सरेको पाइएको छ ।

बर्ड फ्लुको संक्रमणबाट जोगिनका लागि सुरक्षात्मक उपाय अपनाएर विशेषगरी कुखुरा तथा पंक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूले सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लूको संक्रमणबाट जोगिनका लागि कुखुरा तथा पंक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्ति, मासु बेच्ने व्यक्ति तथा पकाएर खाने व्यक्तिलाई केही सुझाव दिएका छन् ।

कुखुरा तथा पंक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूले सरसफाइमा विशेष ध्यान दिनुका साथै कुखुराहरू मर्न थालेमा वा बिरामी पर्न थालेमा तुरन्तै चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । साथै, हरेक व्यक्तिले खोरमा जानका लागि जुत्ता, पञ्जा र माक्स लगाएर मात्रै जाने गर्नुपर्छ । कुखुरा बेच्न राखिएका ठाउँ अर्थात् कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने, बेच्न बसेका व्यक्तिहरूले पनि मास्क र पञ्जा अनिवार्य लगाउने नियमको पालना गर्नुपर्छ ।

मासु बेच्ने ठाउँलाई पनि सफा राख्ने तथा मासु बेच्ने मानिसहरूले पनि मास्क र पञ्जा अनिवार्य रुपले लगाउने गर्नुपर्छ । आधा पाकेको अण्डा खाँदासमेत बर्डफ्लूको संक्रमण हुन सक्ने भएकोले अण्डालाई खानुअगाडि राम्रोसँग पाक्नेगरी उमालेर मात्रै खाने गर्नुपर्छ । मासुलाई पकाउने बेलामा १०० डिग्री तापक्रममा पकाएर मात्रै खाने गर्नुपर्छ । १०० डिग्रीमा पकाइसकेको मासुबाट बर्डफ्लू सर्ने सम्भावना हुँदैन । तर, मासु पकाउने बेलामा मज्जाले सफा गरेर पकाउन जरुरी हुन्छ ।

बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने, बिरामी वा मरेको पंक्षीलाई नछुने, कुखुरा र पंक्षीसँगको सिधा सम्पर्कबाट बच्ने, घरमा पालेको पक्षीको भाँडाकुँडालाई दिनहुँ सफा गर्ने र पंक्षि राख्ने खोरलाई समय समयमा सफा गरेर राख्दा बर्डफ्लुबाट बच्न सकिन्छ ।

Loading...