fbpx

दर्शक लोभ्याउने दाउमा ‘छिँडिभरिको आकाश’

विराटनगर, १ मंसिर । विराट आदर्श साहित्य मञ्चको ब्यानरमा ‘छिँडिभरिको आकाश’ नाटक मञ्चन हुने भएको छ । वरिष्ठ साहित्यकार परशु प्रधानको कथामा आधारित उक्त नाटक लागूपदार्थ दुर्व्यसनीका विरुद्ध र बुढेसकालमा बाबुआमालाई छोडेर सहर भासिएका युवा पिँढिलाई सन्देश दिनका लागि तयार पारिएको हो ।

२०७४ भदौमा मञ्चन गरिएको उक्त नाटक दर्शकहरूले अत्याधिक रुचाएपछि दर्शकहरूको आग्रहमा पुनः दोश्रो पटक माघमा मञ्चन गरिएको थियो । पछिल्लो समय ‘मुनामदन’ नाटकले देशका विभिन्न ठाउँमा दर्शकहरूको मन जित्न सफल उक्त टिम पुनः तेश्रो पटक ‘छिँडिभरिको आकाश’ लिएर आउन लागेको हो ।

परशु प्रधानको कथालाई नाट्यरुपान्तरण तथा निर्देशन मञ्चका अध्यक्ष कटवाल दीपकले गर्ने भएका छन् । अघिल्लोपल्ट रूपान्तरण कटवालले गरेता पनि निर्देशन भने उनले गरेका थिएनन् । ‘छिँडिभरिको आकास’ उनको पहिलो निर्देशित नाटक हो ।

sdgf

कटवाल दीपकको पहिलो निर्देशित नाटक भएकाले र पहिलेका पुराना कलाकार सबै नभएका कारण योपल्ट भने नाटक टिमलाई दर्शकको मन जित्न भने निक्कै चुनौतीपूर्ण देखिन्छ । तर, दर्शकका मायाका लागि अहोरात्र खटिएको दीपकले सुनाए । ‘आफ्नो र नाटक टिमको सम्पूर्ण ध्यान अहिले नाटकमा लगाइरहेको छु,’ उनले भने, ‘पहिले जसरी दर्शकको मन जितेका थियौँ अहिले पनि मन जित्नेमा ढुक्क छु ।’

मंसिर २८ बाट पुस ८ सम्म विराटनगरको आरोहण गुरुकुलमा मञ्चन हुने ‘छिँडिभरिको आकाश’ नाटकलाई मोरङ हिसान र प्याब्सन विराटनगरले सहकार्य गर्ने भएको छ । मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले अहिलेका नयाँ पुस्ता तथा विद्यार्थीहरू लागूपदार्थ दुर्व्यसनीमा फस्ने गरेको र उनीहरूलाई सचेत गराउन र सकारात्मक सोचका साथ साहित्यिक र सामाजिक कार्यमा अग्रसर गराउन नाटक मञ्चन गर्न लागिएको बताए ।

नाटकको व्यवस्थापकमा प्रभा पन्त र सन्दीप बराल रहेका छन भने सन्देश बाराकोटी, वर्षा न्यौपाने, रमेस तिमल्सिना, उमेश पौडेल मान्जित अन्सारी, अनिल खत्री, पार्वती कटवाल, अनुशा भन्डारी र एन्जल बस्नेतले अभिनय गर्ने छन् ।

पहिले दर्शकको मन जितेको ‘छिँडिभरिको आकाश’ नाटकमा अहिले भने केही नयाँ कलाकारहरूले अभिनय गर्दैछन् । विशेषगरी विद्यार्थीहरूले तयार पार्ने नाटकमा मञ्चन हुनु एक महिना अगाडिबाटै नाटकलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्नेमा कलाकार लागिपरेका छन् र यसपटक पनि दर्शकको मन लोभ्याउनेमा ढुक्क छन् ।

Loading...