विराटनगर, १ मंसिर । फिल्म ‘ए मेरो हजुर’को चौथो सिरिजबाट चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको जोडीलाई दर्शकले पुनः एक पटक देख्न पाउने भएका छन् । होम प्रोडक्सनको सिनेमामा सुहना यसअघि नै फाइनल भैसकेकी थिइन् ।
आफ्नै होम प्रोडक्सनमा निर्माण हुन आँटेको नयाँ फिल्म ‘एन्टी हिरो ’मा काम गर्न नसकेको कारण केशी समयअगाडि हात झिकेका अनमोल अहिले लभस्टोरी सिरिज ‘ए मेरो हजुर ४’मा अनुबन्धित भएका हुन् । शनिबार साँझ ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
झरना थापाको निर्देशन रहने फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्ने भएका छन् । फिल्म माघ २० देखि छायाँकनमा जाने छ । फिल्म नेपाल, ओमान र होल्याण्डमा छायाँकन हुने भएको छ भने फिल्मका लागि अन्य कलाकारहरूको खोजी भइरहेको छ ।
अनमोल र सुहानाको अभिनयका कारण ‘ए मेरो हजुर–३’ बक्सअफिसमा हिट रहेको र फिल्ममा दुईको जोडीलाई दर्शकले रुचाएका कारण दोस्रो पटक पनि सहकार्य गरिएको निर्देशक थापाले बताइन् । फिल्मलाई २०७७ को दशैंमा प्रदर्शन गर्नका लागि लगभग तय गरिसकेको छ । ‘ए मेरो हजुर ३’ बाट सुहानाले सिने क्षेत्रमा डेब्यू गरेकी थिइन् ।