fbpx

ठूला अस्पतालबाट निस्कने फोहोर पानी प्रशोधन नगरी सोझै ढलमा

प्रशोधन नगरी विराटनगरका ठूला अस्पतालबाट निस्किएको फोहोर पानी सोझै ढलमा मिसाउने गरेकोले प्राणघातक रोगको जोखिम बढिरहेको छ ।

अंकिता ताम्राकार
विराटनगर, १ मंसिर । विराटनगरका केही ठूला अस्पतालहरूले आइसीयु, मेडिकल, सर्जिकल, क्लिनिकल वार्ड, ल्याब तथा शौचालयबाट निस्किने फोहोर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको पाइएको छ । विराटनगर महानगरपालिका-६ स्थित आश्रा रिसर्च एण्ड एडुकेशन एकेडेमी काउन्सिल नामक संस्थाले विराटनगरका ठूला अस्पतालमा भइरहेको फोहोर पानीको व्यवस्थापन सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनमा ठूला अस्पतालहरूले फोहोर पानी प्रशोधन नगरी सिधै ढलमा मिसाउने गरेको उल्लेख छ ।

अस्पतालको फोहोर पानी प्राणघातक

प्रतिवेदनमा उल्लेख भएअनुसार यस्ता विभागबाट निस्किएको पानीमा विभिन्न रोग भएका बिरामीहरूका रगत, पिसाब, दिशाका साथै अस्पतालमा प्रयोग हुने विभिन्न एन्टीबायोटिक औषधि तथा केमिकलहरूमा मिस्सिँदै ब्याक्टेरिया, प्रोटोजोवा तथा ढुसीका विभिन्न प्रजातिहरू हुन्छन् । जसले हानिकारण मात्र नभइ प्राणघातक रोगहरूसमेत फैलाउने गर्दछन् ।

sdf

आश्राको अध्ययन टोलीले यी अस्पतालको विभिन्न विभागहरूबाट निस्किने फोहोर पानीको पाइप जोडिएको ढल खोजी १० ओटा स्याम्पल लिएको थियो । फोहोर पानीको नमूना संकलन गरी प्रयोगशालामा पठाउँदा ती १० ओटा स्याम्पलमध्ये ७ ओटामा (७० प्रतिशत) इस्चेरिया कोली र ६ ओटामा (६० प्रतिशत) मा क्लेब्सेला निमोनिया भेटिएको थियो । अस्पतालबाट अधिग्रहण गर्ने रोगहरूमा इस्चेरिया कोली र क्लेब्सेला निमोनियाले ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

sdf

उक्त १० ओटा स्याम्पलबाट प्राप्त भएका इ. कोली र के. निमोनियालाई जाँच गरी विभिन्न १६ ओटा एन्टीबायोटिकहरूमा उनीहरूको रोगविरुद्ध लड्ने क्षमताको पनि जाँच गरिएको थियो । प्रयोगशालामा जाँच गर्ने क्रममा उक्त जीवाणुहरूले मापदण्डभन्दा बढी बहु औषधि प्रतिरोध गर्ने क्षमताको विकास गरिसकेको पाइएको थियो । इ. कोली र के. निमोनिया मानिसहरूको दिसा–पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आउने जीवाणु हुन् । ढलमा पाइने तत्त्वहरू अझ यस्ता जीवाणुहरूको वृद्धिका लागि भूमिका निर्वाह गरिरहेको हुन्छ ।

फोहोर पानीले बिरामीहरू बढाउँदै छ

अनुसन्धाता सञ्जय महतोका अनुसार अस्पतालबाट निस्किएको फोहोर पानी ढलमा मिसिएको कारण वातावरण प्रदूषण हुनुका साथ साथै झाडापखाला, आउँ, निमोनिया, मुत्रनलीको संक्रमण, फोक्सोको समस्या तथा टाइफाइडजन्य बिरामीहरूको संख्या बढिरहेको छ । साथै, अस्पतालबाट निस्किएको इ. कोली र के. निमोनियाहरू बहुऔषधि प्रतिरोध गर्ने क्षमता राख्ने गर्छन् । बहुऔषधि प्रतिरोध गर्ने क्षमता भनेको यिनीहरूलाई विभिन्न एन्टीबायोटिक औषधिले केही पनि असर गर्न सक्दैन । जसकारण यिनीहरूले फैलाएको रोगलाई सजिलै कुनै पनि औषधिले निको पार्न सक्दैन ।

खाना र पानीको सम्पर्कबाट मानव शरीरमा प्रवेश हुन्छन् प्राणघातक जीवाणु

यस्ता बहुऔषधि प्रतिरोध गर्ने क्षमताको विकास गरिसकेको जीवाणुहरू खाना तथा पानीको सम्पर्कमा आएमा यसले मानिसको ज्यानसमेत लिन सक्छ । विराटनगरका ठूला अस्पतालहरूमा समेत फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छैन । अस्पतालबाट निस्कने फोहर पानी सार्वजनिक ढलमा मिसाउने गरिएको देखिन्छ । यस्ता अस्पतालबाट सामान्य फोहर पानी मात्र नभइकन हानिकारक रसायनयुक्त फोहर पानी पनि निष्कासन हुने गर्दछ ।

अस्पतलामा फोहोर पानी प्रशोधन केन्द्र आवश्यक

आश्राको अध्यन टोलीको प्रतिवेदनमा हानिकारक फोहर पानीलाई उचित व्यवस्थापन नगरिकन सिधै ढलमा मिसाउने गर्दा यसले मानव स्वास्थ्य एवं वातावरणमा गम्भीर असर गरिरहेकोले तत्काल समस्या समाधान गर्न सुझाएको छ । प्रतिवेदनमा अस्पतालहरूले सोझै फोहोर पानी ढलमा मिसाउन नहुने, फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरेर मात्र त्यसलाई ब्यवस्थापन गर्र्नुपर्ने बताइएको छ । साथै नियमनकारी निकायहरू नगरपालिका, मन्त्रालय र विभागहरूले पनि कानून बनाएर फोहोर पानीलाई सिधै ढलमा मिसाउन नियन्त्रण गनुपर्ने सुझाव छ ।

Loading...