fbpx

चुलीपोखरीको पर्यटकीय महत्त्व फैलाउन स्थानीय सक्रिय

विराटनगर, १ मंसिर । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिका–२ मा रहेको रमणीय चुलीपोखरीको पर्यटकीय महत्त्व फैलाउन स्थानीय सक्रिय भएर लागिपरेका छन् । चुरे पहाडी क्षेत्रमा पर्ने झण्डै ५ बिगाहा क्षेत्रफलमा फैलिएको मनमोहक चुलीपोखरीको पर्यटकीय महत्त्व ओझेलमा परेको भौतिक पूर्वाधार निर्माण गरेर फैलाउन स्थानीयहरू सक्रिय भएर लागिपरेका हुन् ।

चुलीपोखरीमा पर्यटकहरू आर्कषित गर्न मोरङ एक नम्बर क्षेत्रका प्रदेश संसाद कुशल लिम्बूले विशेष चासो दिएका छन् । उनकै पहलमा पोखरी क्षेत्रमा पक्की शौचालय निर्माण सम्पन्न भएको छ । चालुवर्ष चुलीपोखरीको सौन्दयकरणका लागि प्रदेश वन मन्त्रालयले ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

चुलीपोखरीको पर्यटकीय महत्त्वलाई बुझेर सामुदायिक वन र मिक्लाजुङ गाउँपालिकाले अग्रसरतामा तालसम्मै पुग्ने कच्ची मोटरबाटो निर्माण गरिदिएका छन् । जसले गर्दा पूर्व–पश्चिम राजमार्गस्थित उर्लाबारीको किसान चोकदेखि १५ किलोमिटर उत्तरमा पर्ने चुलीपोखरी मोटरमा सहजै पुग्न सकिन्छ ।

चुलीपोखरीको विकासका लागि क्रमशः भौतिक पूर्वाधार तैयार गरेर चुलीपोखरी क्षेत्रमा रहेका ३५ घरहरूमा होमस्टे सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य बताउँछन् । स्थानीयका अनुसार चुलीपोखरी ताल अरुभन्दा भिन्न र अनौँठो छ । वरिपरि जंगलले घेरिएको ताल भए पनि पानीमा पातपतिंगर भेटिँदैन ।

घनाजंगलले ढाकेको चुलीपोखरी प्रकृतिको मनोरम दृश्यावलोकनका लागि चर्चित छ । पोखरीको दक्षिणतर्फ डब्लू आकारको पहाडले स्वागत गरेको देख्न सकिन्छ ।

Loading...