fbpx

छायांकन सकिएको महिनौं बित्दा पनि प्रदर्शनमा आएन पलको ‘हृदयभरि’

विराटनगर, १ मंसिर । अभिनेता पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘हृदयभरि’को छायांकन सकिएको महिनौं बित्दा पनि फिल्म प्रदर्शनमा आउन सकेको छैन । भदौ २७ गते प्रदर्शन मिति तय गरेको फिल्मले मंसिर लागिसक्दा पनि फिल्म रिलिज गर्ने सोच बनाएको छैन ।

पलले फिल्ममा अभिनय गर्नका लागि २० लाख पारिश्रमिक लिएको खबरले गर्दा पनि फिल्म निकै चर्चामा आइरहेको हो । फिल्मको प्रदर्शनबारे पल तथा निर्माण टिमले केही पनि बताएका छैनन् । सुरज सुब्बा नाल्बोको निर्देशनमा तयार भएको फिल्म ‘हृदयभरि मा पललाई एक पोल्ट्रिफार्म सञ्चालकको भूमिका निर्वाह गरेका छन् ।

फिल्मका लागि पलले आफ्नो लुक्स समेत परिवर्तन गरेका थिए । फिल्ममा पल शाहको नवनायिका श्रद्धा क्षेत्रीसँग जोडी बाँधिएको छ । मानकृष्ण महर्जनको छायांकन गरिरहेको फिल्ममा पल र श्रद्धाका साथ सलोन बस्नेत, नीर शाह, सुनिल थापा, अनुराग कुवँर, निर्मल शर्मा, रेखा लिम्बू, मनोज केसीलगायतका कलाकारहरुकोे अभिनय रहेको छ ।

फिल्मलाई एन फिल्म्स एंड क्रिएसन, शाह प्रोडक्सन र दिपेन्द्र फिल्म्सको संयुक्त तरिकाले निकेश लिम्बु, चन्दन शाह र दीपेन्द्र राईले निर्माण गरेका हुन् । पल अहिले आफू अभिनित ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा व्यस्त रहेका छन् । सुदर्शन थापा निर्देशित फिल्ममा उनको जोडीको रूपमा अभिनेत्री पूजा शर्मा छिन् । फिल्म आउँदो फागुन २३ गतेबाट प्रदर्शनमा आउने तय भएको छ ।

Loading...