fbpx

हुमन ट्रयापिङ नेटवर्कको सञ्जाल व्यापक बन्दै, नियमनकारी निकाय बेखबर

रोजगारको बहानामा खुलेआम देशभर फस्टाउँदैछ ठगीको नयाँ धन्दा

विराटनगर, १ मंसिर । मान्छेलाई ट्रयापमा पारेर मान्छेबाट मान्छे ठग्ने सञ्जाल देशभर व्यापक बन्दै गएको छ । बेरोजगार नेपाली युवाहरूलाई सजिलो काम गरेर धेरै पैसा कमाउने लोभमा फसाएर भारत लगी ट्रयापमा पारी नेटवर्किङ कम्पनीको सदस्य बनाएर हाकाहाकी मान्छे ठगी गर्ने धन्दाको सञ्जाल देशभर व्यापाक बन्दै गएको हो ।

मान्छेले मान्छे ठग्ने धन्दाबारे प्रहरी प्रशासनले उजुरी नआएको भन्दै चासो नदिँदा नेपालमा दिन दुईदिना रात चौगुनाझैँ फैलँदै गइरहेको छ । जसले गर्दा हजारौँ नेपालीहरू आफ्नै मान्छेहरूबाट हाकाहाकी ठगिन बाध्य भइरहेका छन् । जसको अकुत नाफा धन्दाको सञ्जाल चलाउने नाइकेहरूले लिइरहेका छन् ।

भुक्तभोगी मोरङ सुन्दरहरैँचा नगरपालिका–१ का ३४ वर्षीया वीर्खबहादुर दर्जीका अनुसार गाउँ–गाउँमा फैलिएका हुमन ट्रयापिङ नेटवर्कका एजेन्टहरूले चिनेजानेका सोझाहरूलाई विदेश जानुभन्दा भारत गएर कपडा मिलाउने, अफिस र औषधि पसलमा सुकिलो काम गरेर न्यूनतम २५ हजार मासिक कमाउन सकिने आश्वासन दिन्छन् । कसैले नयाँ–नयाँ सामानहरू बेचेर नाफा कमाउन पाइन्छ भनेर पनि फसाउँछन् । नेटवर्कको झुठो नीतिमा लोभिएर सयौँ बेरोजगार नेपाली युवाहरू हाकाहाकी ठगिने गर्दछन् ।

हुमन ट्रयापिङ नेटवर्कवालाहरूले नेपालीहरूलाई लक्षित गरी भारतको गोरखपुरमा डीडी ट्रेडमार्क प्रालि, सिलिगुढी र बनारसको आर्च ट्रेडमार्क, ओरियन्सलगायत विभिन्न शहर विभिन्न कथित नेटवर्क व्यापारका कम्पनीहरूको कथित केन्द्र राखेका छन् । ती कम्पनीले नेपालमा अबैध नेटवर्किङ धन्दाका लागि विभिन्न जिल्लाहरूमा एजेण्ट परिचालन गरेर पटकपटक सयौँ युवाहरूलाई संकलन गराउँछन् । गोरखपुरमा पश्चिम सुर्खेत, पर्वत, दाङ्ग, प्युठान, डोटी, तनहुँ, गुल्मी, पाल्पालगायतका जिल्लाका युवाहरू पुग्ने गर्दछन् । सिलिगुढीमा र वनारसमा चाहिँ मोरङ, झापा, संखुवासभासहित विभिन्न जिल्लाका नेपालीहरू पुग्ने गरेका छन् ।

केन्द्रमा संकलन भएका नेपालीहरूलाई नेटवर्कवालाहरूले तालिमको वहानामा चर्को शुल्क असुल्छन् । र, बन्दी बनाएर देखावटी तालिम दिँदै नेटवर्कको सदस्य बनेर सक्रिय भएमा केही महिनामै मोटरसाइकल, मोबाइल, कार, घर कमाउन सकिने झुठो प्रलोभन देखाएर आकर्षित गर्छन् । तालिम सकिएपछि लाइसेन्स बनाउने र बिक्रिका लागि गुणस्तरीय वस्तुहरू दिने भन्दै विभिन्न फर्महरूमा सही गराएर १५ हजार भारुदेखि दुईलाख रुपैयाँसम्म असुल्छन् । कागज गर्दा आफ्नो जिम्मेवारी आफू स्वयम् हो भनेर तीनपुस्ते नाता खुलाएर हस्ताक्षर गराइन्छ । जसले गर्दा भविष्यमा आइपर्ने विवादमा कम्पनी निर्दोष देखिन्छ र अग्रिम कागज गरेका कारण कम्पनीबाट पैसा फिर्ता पाउने सम्भावना पनि हुँदैन र ठगिएको व्यक्ति गाउँ फर्केर व्यक्ति ठग्न बाध्य हुन्छ । ठगिएकाहरू धेरै चाहिँ पछुतो गर्दै गाउँ फर्कँदैनन् र भारततिरै ज्यालामजदूरी गरेर जीवन गुर्जान थाल्छन् ।

नेपाल प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखेरल कसैले उजुरी दिए ठगी, मानव अपहरण र शरीर बन्धक अपराधमा कानुनी कारवाही चलाउन सकिने बताउँछन् । तर, बिडम्वना ट्रयापमा परेर ठगिएकाहरूले आफ्नो प्रतिष्ठाका लागि भन्दै समस्या पचाउँछन् र उजुरबाजुर गर्दैनन् ।

तस्बिरहरु : भारतको सिलिगुडी र गोरखपुरमा पु¥याइएका नेपाली युवाहरूलाई धर्मशालामा बन्धक बनाएर हुमन ट्रयापिङ नेटवर्कबारे तालिम दिइँदै ।

Loading...