fbpx

‘बालोन डी‘ओरको हकदार मेस्सी र भान डाइक हुन्, रोनाल्डो होइनन्’

एजेन्सी, १ मंसिर । स्पेनिस क्लब रियल मड्रिडका पूर्वगोलरक्षक इल्कर क्यासिल्लासले बालोन डी‘ओरका हकदार पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो नभएर बार्सिलोनाका कप्तान लियोनल मेस्सी र लिभरपुलका स्टार भर्जिल भान डाइक भएको बताएका छन् ।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँग ६ वर्ष एकसाथ खेलेका क्यासिल्लासले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै रोनाल्डो बालोन डी‘ओरको हकदार नभएको बताएका । सन् १९९९ देखि २०१५ सम्म रियलबाट खेलेका उनले ट्वीटरमा भर्जिल भान डाइक यसको प्रमुख हकदार भएको, मेस्सी दाबेदार भएको तर रोनाल्डो यसको हकदार नभएको बताए ।

khel

फ्रान्स फुटबल र फिफाले संयुक्त रूपमा प्रदान गर्ने उक्त अवार्डमा लिभरपुलका भान डाइकलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । सन् २०१८ को च्याम्पियन्स लिगका विजेता भान डाइक यसै अगस्टमा ‘यूइएफए प्लेयर अफ दि इयर’ बन्न सफल भएका थिए । यस्तै अर्जेन्टिनी कप्तान मेस्सी पनि यस अवार्डका प्रमुख हकदारको रूपमा हेरिएको छ । मेस्सीले अघिल्लो महिना मात्र फिफाको ‘द बेस्ट मेन्स प्लेयर’को अवार्ड हात पारेका थिए ।

विश्वकप विजेता स्पेनिस खेलाडी क्यासिल्लासले लेखेका छन्, ‘भान डाइक यूइएफएको उत्कृष्ट खेलाडीमा छानिएका छन् । यस्तै मेस्सी फिफाको उत्कृष्ट खेलाडी घोषित् भएका छन् । यदि, क्रिस्टियानो रोनाल्डोले बालोन डी‘ओर जिते भने यो अतार्किक देखिन्छ, म यो बुझ्छु कि, फुटबलको व्यक्तिगत पुरस्कार पनि तार्किक तरिकाले दिइँदैन रहेछ ।’

यस्तै उनले पछिल्लो समय दिएको अन्तर्वार्तामा पनि भान डाइक नै यसको प्रमुख हकदार भएको बताएका छन् । उनले ‘टकस्पोर्ट्स’सँगको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो लागि बालोन डी‘ओरको विजेता नै भान डाइक हुन् । म यसका कारण पनि विश्वस्त छु कि उनी लिभरपुल फुटबल क्लबमा छन्, जसले च्याम्पियन्स लिगको उपाधि जितेको छ ।’

‘उनी विश्वका उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धामा छन्’, उनले थपे, ‘मेस्सीसँग सर्वाधिक गोलकर्ताको रेकर्ड छ । यद्यपि, मेस्सीले भान डाइकलाई जित्न सक्दैनन् । किनकी मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका छैनन् । बालोन डी‘ओर जित्न च्याम्यिन्स लिग जित्नुपर्छ ।’

डिसेम्बर २ मा घोषणा हुने उक्त बालोन डी‘ओर दौडमा मेस्सी र रोनाल्डो विश्व कीर्तिमान रच्ने दाउमा छन् । उनीहरू समान पाँच–पाँच पटक बालोन डी‘ओर जितिसकेका छन् । अब उनीहरू छैटौं पटक बालोन डी‘ओर जित्दै कीर्तिमान बनाउन चाहान्छन् । यता, भान डाइक भने दुवैलाई पछि पार्दै पहिलो पटक उक्त अवार्ड जित्ने दाउमा छन् ।

Loading...