fbpx

पत्रपत्रिकामा देश : भारतको बलमिच्याइँ

विराटनगर १ मंसिर । भारतको दुधुवा नेसनल पार्कबाट दिनहुँ वन्यजन्तु आएर दुःख दिन थालेपछि पुनर्वास नगरपालिका ९ बीचफाँटका किसानले काँडेतार लगाउने योजना बनाएपछि नगरपालिका र वडाले पनि सघाए ।

बाली जोगाउन एकमात्र विकल्पका रुपमा रहेको काँडेतार लगाएको भएपनि भारतीय सुरक्षा फौज एसएसबीले उखेलेर फ्याँकिदियो । २०७५ माघ १० गते भारतीय पक्षले एकलौटी गरेर टे«न्च खनेर तारबार लगायो । टे«न्च खनेर तारबार लगाएपछि माटोको बाँध बन्दा नेपाली क्षेत्र यो वर्ष डुवानमा परेको थियो ।

यता इलाममा मिचेको भूभागमा नेपाली झण्डा गाड्न गाएकालाई एसएसबीले अवरोध गर्न खोज्दा विद्यार्थीसँग झडप भएको छ । सीमावर्ती पर्यटकीय क्षेत्र सन्दकपुरमा विद्यार्थी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच शनिवार बिहान ढुंगा हानाहान भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई सन्दकपुरको भ्यु टावरमा जान नदिएपछि विद्यार्थीहरुसँग झडप भएको हो ।

प्रधाननमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारको समाचार आजका प्राय सबै दैनिकहरुले प्रमुखताका साथ छापेका छन् । नागरिक दैनिकमा ‘प्रधानमन्त्रीको डायलासिस’ शिर्षकमा समाचार छापेको छ ।

कान्तिपुर दैनिकले ‘प्रधानमन्त्रीको तेश्रो पटक डायलासिस’ शिर्षकमा मुख्य पृष्ठमा समाचार छापेको छ । यस्तै नयाँ पत्रिका दैनिकमा ‘प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गर्ने निष्कर्ष’ शिर्षकमा मुख्य समाचार छापेको छ । अहिले उनको मिर्गाैलाले १० प्रतिशत मात्रै काम गरिरहेको छ ।

उपचारमा संलग्न चिकित्सकले नियमित डायलासिस वा पुनःप्रत्यारोपण मध्ये एक विकल्प रोज्न प्रधानमन्त्रीलाई विकल्प दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भने मिर्गाैला प्रत्यारोपण नै गर्ने योजना बनाएका हुन् । उनको मिर्गाैला दोश्रो पटक प्रत्यारोपण गर्न लागिएको हो । प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण स्वदेशमै गर्ने कि विदेशमा गर्ने भन्ने टुंगो लाग्न बाँकी छ ।

यसैबीच प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । यस्तै बामदेव गौतमलाई उपाध्यक्ष पद दिने प्रस्ताव गरेको र अर्का नेता माधवकुमार नेपालसँगपनि दुरी घटाएका छन् ।

Loading...