fbpx

पत्रपत्रिकामा प्रदेश : उपनिर्वाचनको रौनक नाच्दै भोट माग्दै

विराटनगर १ मंसिर । धरान उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवारहरु चुनावी मैदानमा प्रचार प्रसार र घरदैलो कार्यक्रम नौलो तरिकाले गरेर मतदाताको ध्यानाकर्षण गर्न लागिपरेका छन् ।

मतदानको दिन १४ मंसिर नजिकिँदै जाँदा अरु भन्दा फरक देखाएर मतदातालाई अकर्षित गर्न यस्ता कार्यक्रम गर्न थालेका हुन् । धरानमा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । साना दलहरु समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारहरु सामान्य रुपमा प्रचार प्रसार र घरदैलो कार्यक्रम गरिरहेका छन् ।

नेकपा र कांग्रेसका उम्मेदवारबीच भने आरोप प्रत्यारोप तथा प्रचारशैलीमा समेत विविधता अपनाउदै आएका छन् । नेकपाका मेयरका उम्मेदवार प्रकाश राई टोल टोलमा पुगेर नाच्दै मतदाताको ध्यान तान्न खोजिरहेका छन् । यता कांग्रेसका उम्मेदवार तिलक राई भने सडक बालबालिकाहरुलाई खाना खुवाएको फोटो सामाजिक सञ्जालमा हालेर मतदाताको ध्यान खिच्ने प्रयासमा रहेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

कान्तिपुर दैनिकमा नै फड्के तर्न शुल्क शिर्षका झापाको समाचार छ । दक्षिणी झापाको सीमावर्ती गाउँका बासिन्दालाई बर्खामा निक्कै सास्ती हुन्छ । हिउँदमा पनि सुख छैन् । बर्खामा मेचीको भेल उर्लिन्छ । हिउँदमा पनि नदी तर्न सकिँदैन् । वारपार गर्न समस्या भएको ठाउँमा स्थानीय निकायले लगाएको बाँसको पुल (फड्के) तर्न पनि सर्वसाधारणले शुल्क तिर्नु पर्छ ।

केचनाकबल गाउँपालिकाले लगाएको सो फड्के यो वर्षको लागि ४ लाख २० हजारमा ठेक्का लगाएको छ । फड्के तर्न स्थानीयले प्रतिव्यक्ति ५, साइकल सहित १० र मोटरसाइकलसहित १५ रुपैयाँ तिर्नु पर्छ ।

जनविद्रोह दैनिकमा नेकपा महानगर कमिटीको नाम टुंगियो शिर्षकमा समाचार रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीमा रहनेको नाम टुंगो लागेको हो ।

सहमति हुन नसक्दा अध्यक्ष र सचिवको जिम्मेवारी तोकिएको लामो समय भएपनि नगर कमिटी भने बन्न सकेको छैन् । सहमति भएसँगै मंसिर ७ गते सपथ ग्रहण गराइने भएको छ । महानगर कमिटीमा १ सय ४६ जना सदस्य रहने सहमति भएको छ ।

नेपाल भारत सीमामा रहेको सीमास्तम्भ जीर्ण रहेको पाइएको ब्लाष्ट टाइम्समा खबर छ । भारतसँग सीमा छुट्याउन राखेको २ सय ९० वटा पिल्लर मध्ये अधिकांश जिर्ण अवस्थामा रहेको र कतिपय बालुवाले पुरेको छ । प्रहरीले २३ वटा सीमास्तम्भ हराएको बताएपनि लामो समयसम्म खोजी नगर्दा धेरै नै सीमास्तम्भ हराएको अनुमान गरिएको छ ।

Loading...