fbpx

क्रोएशिया युरो कपमा छानियो

विराटनगर, १ मंसिर । क्रोएशिया सन् २०२० मा आयोजना हुने युरो कपमा छानिएको छ । शनिबार राति भएको खेलमा स्लोभाकियालाई हराउँदै क्रोएशिया युरो कपमा छानिएको हो ।

आफ्नै मैदानमा स्लोभाकियाविरुद्ध ३–१ गोलको जित निकाल्दै ऊ समूह विजेताको रूपमा युरो कपमा छानिएको हो । समूह ‘ई’ बाट १७ अंकसहित ऊ समूह विजेता भयो । स्लोभाकियालाई हराउन निकोला भ्लासिक, ब्रुनो पेटकोभिक र इभान पेरिसिकले समान एक–एक गोल गरे । स्लोभाकिलायले बनाएको सुरुआती अग्रता उल्टाउँदै उसले जित निकालेको हो ।

खेलको ३२औं मिनेटमा पाहुना टोलीका रोबर्ट बोजेनिकले गोल गर्दै टोलीलाई अग्रता बनाएका थिए । तर, खेलको ५६औं मिनेटमा भ्लासिकले गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै खेलको ६०औं मिनेटमा पेटकोभिकले गोल गरेपछि क्रोएशियाले अग्रता बनायो ।

खेलको ६६औं मिनेटमा स्लोभाकियाका रोबर्ट मार्कले रातो कार्ड पाएपछि ऊ १० खेलाडीमा सीमित बनेको थियो । यसको फाइदा उठाउँदै पेरिसिकले खेलको ७४औं मिनेटमा गोल गरे । र, टोलीलाई ३–१ गोलको जित निकाले ।

Loading...