fbpx

भ्रमण वर्षमा ७१ देशलाई मन्त्रीको निम्तो

कठमाडौं ३० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पु¥याइदिन आग्रह गरेका छन् ।

नवौँ विश्व रेन्जर सम्मेलनको शनिबार सौराहामा समापन गर्दै उनले परिवार, इष्टमित्र र साथीभाईलाई भ्रमण वर्षको निम्तो पु¥याइदिन आग्रह गरे ।

नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनि देश भएको सम्मेलनका क्रममा सहभागीले जानकारी पाएकोमा आफू विश्वस्त भएको भन्दै मन्त्री भट्टराईले पर्यटकीय महत्वलाई विश्वभर पु¥याउन भ्रमण वर्ष फलदायी हुने बताए । नेपालको भूबनोट तराईदेखि हिमालसम्म फैलिएको उनको भनाइ थियो ।

संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उनले सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गरे । कार्यक्रममा अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) का नवनियुक्त अध्यक्ष क्रिश गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसात गर्दै महासङ्घलाई अघि वढाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावि पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणा पत्र २०१९ जारी गरेको छ ।

Loading...