fbpx

इरानमा इन्धनको मूल्यवृद्धिको विरोध प्रदर्शनमा एक जनाको मृत्यु

तेहरान ३० कात्तिक । इरानमा पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेपछि सरकारको विरोधमा शनिबार भएको प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । अन्य केही अरु घाइते भएका छन् । अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थव्यवस्था संकटमा छ ।

इरानी शहर सिरजानमा भेला भएका प्रदर्शनकारीले एउटा पेट्रोल डिपोमा आगलागीको प्रयास गरेपछि हिंसा भड्किएको थियो । यसक्रममा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।

इरान सरकारले हरेक महिना पहिलो ६० लिटरसम्म पेट्रोल खरिद गरेमा ५० प्रतिशत र सोभन्दा माथि जतिसुकै पेट्रोल खरिद गरेमा ३०० प्रतिशत मूल्यवृद्धि गर्ने घोषणा गरेको छ ।

तर, सिरजान बाहेक देशका अन्य भूभागमा पनि प्रदर्शनहरु भएको इरानी सरकारी समाचार संस्था इर्नाले जनाएको छ । अब्दान, अहवाज, बन्दार अब्बास, बिरजान्ड, गाचसारान, माशाद र शिराजमा प्रदर्शन भएका छन् ।

इरानी राष्ट्रपति हसन रौहानीले शनिबार झण्डै ७५ प्रतिशत इरानी जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट संकलन हुने रकम जनतालाई नै बितरण गरिने बताए । रौहानीले गत वर्ष डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने प्रयास गरेका थिए । सर्वसाधारणको विरोधका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो ।

इरानमा यो मूल्यवृद्धि निकै संवेदनशील अवस्थामा घोषणा गरिएको छ । आगामी फेब्रुअरीमा इरानमा संसदीय निर्वाचन हुँदैछ ।

Loading...