fbpx

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या

गोमा, ३० कात्तिक । अफ्रिकी मुलुक कंगोमा युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् । उनीहरुले सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै सर्वसाधारणको हत्या गरेका हुन् ।

शुक्रबार रातिदेखि शनिबार बिहानसम्म उनीहरुले सर्वसाधारणको हत्या गरेका हुन् । बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भएको छ ।

यी घटनाहरु कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ । कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महिना घोषणा गरेको थियो । छिमेकी मुलुक युगान्डाका विद्रोहीहरुको समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) सक्रिय छ ।

बेनीका प्रशासक डोनाट किबवानाले आक्रमणकारीले स्थानीयमाथि धारिलो हतियारले आक्रमण गरेका र घर एवं पसलमा लुटपाट गरेको बताए । सरकारी फौजले गत अक्टोबर ३० मा यस क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो ।

Loading...