fbpx

पूर्वाधारको विकास नहुँदा कृषकले उचित मूल्य पाएनन्

धनकुटा ३० कात्तिक । पूर्वाधारको अभावमा कृषि क्षेत्रको विकास हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

शीत भण्डार, वेयर हासउ, अक्सन हाउस लगायतको पूर्वाधार तथा प्रसोधन, प्याकेजिङ लगायतका सुविधा नहुदा किसानले उचित कृषि उपजको किसानले उचित मूल्य पाउन नसकेको उनीहरुको भनाई छ ।  धनकुटाको हिलेमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले कृषि व्यवसाय प्रवर्धनका क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी तथा सहकारी क्षेत्रको सहकार्यमा भौतिक पूर्वाधार विकास गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योगी अविनास बोहोराले १ नम्बर प्रदेशको सम्मृद्धिका लागि छरपष्ट कार्यक्रम भन्दा तुलनात्मक लाभका क्षेत्र पहिचान गरि कृषिको व्यवसायीकरण र विशिष्टिकरण गर्नु पर्नेमा जोड दिए । उनले पुर्वाधारको विकास गरि गाँउलाई शहरसँग जोड्नु पर्ने, पर्याप्त अध्ययन अनुसन्धान गरि अर्ग्यानिक उत्पादन, बजारको खोजी गर्नु पर्ने बताए ।

शीत भण्डार, वेयरहाउस, मण्डी, अक्सन हाउस तथा निर्यात गृह जस्ता बजार पुर्वाधारहरु निर्माण र सञ्चालनमा सार्वजनिक तथा नीजि क्षेत्रले लगानी सहकार्य गर्नु पर्ने उनको भनाई छ । यस्तै नितिगत सुधार र अनुकुल व्यवसायिक वातावरण भए लगानीका लागि निजि क्षेत्र तयार रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १का उपाध्यक्ष लिलम बस्नेतले उच्च मूल्य सम्भावनाका रैथाने बालीको व्यवसायिक प्रवर्धन, कृषि क्षेत्रमा सुलभ वित्तीय पहुँच एवम् सेवाको सुनिश्चता र निजी क्षेत्रको लगानीमैत्री वातावरणका लागि प्रदेश सभा र सरकार मार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसै गरि नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) का टिमलिडर जिबि बञ्जाराले मुनाफामुलक, साना किसानहरुलाई लाभ पुग्ने र सार्वजनिक निजी सहकारी क्षेत्रले सहलगानी गर्ने क्षेत्र पहिल्याई अघि बढ्नु पर्ने बताए ।

सहभागीहरुले अलैचीमा देखिएको रोगका कारण अलैची किसानलाई ठूलो मार परेको, पर्याप्त पहल र प्राथमिकता नदिईएको, बैङ्क तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न आलटाल गरेको, निर्यात प्रवर्धन गर्न वेयरहाउस र अक्सन सुविधा नभएको बताए ।

अदुवा, चिया, ताजा तरकारी, सुन्तला, कागति, मसलाबाली, दूध, बङ्गुरपालन, बाख्रा पालन, माछा, एभोकाडो, कफि, किविफल, जडिबुटी, रुद्राक्ष, रैथाने बाली कृषि पर्यटन लगायतका कृषि बाली र कृषि उद्योगहरुमा लगानी फलदायी हुने उनीहरुको भनाई छ ।
कार्यक्रममा पूर्वी पहाडी जिल्लाका जनप्रतिनिधि, उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संघ संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा कृषि क्षेत्रमा लगानीका अवसरहरु विषयमा अर्थशास्त्री सहप्राध्यापक डा. अर्जुन कुमार बरालले प्रदेशमा कृषिको वर्तमान अवस्था र लगानीका विविध क्षेत्रका बारेमा अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ विराटनगरको आयोजना तथा धनकुटा उद्योग वाणिज्य संघको सहआयोजनामा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले सञ्चालन गरेका थिए । यसअघि महासंघले इलाम, झापा र उदयपुर जिल्लामा यस्तै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

Loading...