fbpx

नेपालको पहिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कायमै

विराटनगर, ३० कात्तिक । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो जित दर्ता गरेको छ । शनिबार आफ्नो दोस्रो खेल खेलेको नेपालले हङकङविरुद्ध ४० रनको जित निकालेको हो ।

ढाकामा नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङले ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रन मात्र बनाउन सक्यो । हङकङका किन्चिट शाहले ५३ रन बनाउँदा एहसान नवाजले अविजित ४४ रन बनाए । यस्तै हरोन महमद अर्सादले २६ रन बनाएका थिए ।

h

बलिङतर्फ करण केसी र अविनास बोहराले समान ३–३ विकेट लिँदा सुशन भारीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा दुई सय १७ रन बनायो । नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ८९ रन बनाए । उनले एक सय ३९ बलमा नौ चौका प्रहार गरे ।

शरदले तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र ३७ रनमा आउट भए । शरदले चौंथो विकेटका लागि आरिफ शेखसँग ७४ रनको साझेदारी गरे । आरिफले ४८ रन बनाए । नेपालले ३ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको थियो । यस्तै विनोद भण्डारीले १५ रन जोड्दा अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ मोहमद अजिज खानले ३ विकेट लिँदा नस्रुलाह राना र एहसान नवाजले समान २–२ विकेट झारे ।

यस जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । अब नेपालले अर्को खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल सोमबार हुनेछ ।

Loading...