fbpx

मधुमेह ‘साइलेन्ट किलर’, बिरामीले लापरवाही गरेमा यस्तोसमेत हुन सक्ने

विराटनगर, ३० कात्तिक । नेपालमा मात्रै अहिले २५ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । मानिसको बढ्दो व्यस्तता, जीवनशैलीमा आएको परिर्वतन, खानपानमा ध्यान नदिँदा, ब्यायाम नगर्दा तथा शरीरमा देखिएका विभिन्न लक्षनहरूलाई ध्यान नदिएका कारण नेपालमा मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको चिकित्सकहरुको भनाइ रहेको छ ।

मधुमेहले बिरामीहरूलाई तुरुन्तै दुःख भने दिँदैन । यो रोगले बिरामीलाई बिस्तारै मार्छ । यसलाई धेरै डाक्टरहरूले ‘साइलेन्ट किलर’ भनेर पनि रुचाउने गर्छन् । यसले भविष्यमा गएर आँखा नदेख्नेसमेत बनाउन सक्छ । यसका साथ साथै किड्नी फेल हुने, हृदयघात हुन सक्ने तथा प्यारालाइसिस हुने खतरा पनि धेरै हुन्छ । कतिपय अवस्थामा खुट्टाले काम नगर्ने हुँदा खुट्टा समेत काट्नुपर्ने हुन सक्छ । यो अवस्था एकै दिनमा पुग्ने भने होइन । यसका लागि बीसौँ वर्षसमेत लाग्न सक्छ ।

त्यसैले सुगर अर्थात् मधुमेह भएका बिरामीहरूले अलिकति पनि लापरबाही गर्न हुँदैन । हिजो सुगर ५ सय थियो आज ३ सय छ कन्ट्रोल भयो भनिन्छ यो गलत हो । एक पटक सुगर बढेपछि जति नै कन्ट्रोलमा आएपनि त्यसले शरीरमा बिगार गर्ने उत्ती नै हुन्छ । मुखको क्षणिक स्वादका कारणले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु नै बुद्धिमानी हुन्छ ।

मधुमेहको बिरामीहरूलाई केही खाने कुरा निश्चित परिमाणमा खादाँ खासै शरीरमा असर परि हाल्दैन । मधुमेहका रोगीले विभिन्न खाना खान छोड्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै उपयुक्त हुने गर्छ । मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या भएको हुदा यसलाई समय समयमा उचित आहारको सन्तुलन, ठिक्क ब्यायाम गरेर मिलाएर कम गर्न सकिन्छ ।

सरल जीवनशैलीसँगै नियमित व्यायाम, समय समयमा सन्तुलित भोजन र औषधिले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सकिन्छ ।

Loading...