fbpx

अध्ययन भन्छ : अफिसमा काम गर्दा हरेक एक घण्टामा २ मिनेट हिँड्नुपर्छ

विराटनगर, ३० कात्तिक । लामो समयसम्म एकै ठाउँमा, एउटै पोजिसनमा बसेर काम गर्ने मानिसहरुको शरीर तथा मस्तिष्कमा रगतको सञ्चार राम्रोसँग नहुने भएको कारणले अफिसमा हरेक समय कुर्सीमा बसेर काम गर्ने व्यक्तिहरूले हरेक घण्टा केही समय ब्रेक लिएर २ मिनेट हिँड्ने बानी बसाउनुपर्छ ।

दिनभर अफिसको कुर्सीमा बसेर काम गर्ने हुँदा शरीर तथा मस्तिष्कमा राम्रोसँग रगतको सञ्चार नहुनुको परिणाम निकै घातक हुन सक्ने कुरालाई अध्ययनले पत्ता लगाएको छ । लिभरपुल जोन मोरेस विश्वविद्यालयको जर्नल अफ एप्लाइड फिजियोलोजीमा छापिएको एक रिपोर्टमा उल्लेख गरिएअनुसार अध्ययनमा लगातार कुर्सीमा बसेर काम गर्ने १५ व्यक्तिहरूमा गरिएको हो ।

सोफी कार्टरको नेतृत्वमा गरिएको उक्त अध्ययनमा यी व्यक्तिहरु केवल बाथरुम जान मात्र उठ्ने गर्थे । शोधकर्ताले उनीहरुको रगत प्रवाहलाई ट्र्याक गरेका थिए जसको परिणाममा ती व्यक्तिहरुको मस्तिष्कमा रगत सञ्चार कम भएको देखाएको थियो । तर, केही दिनका लागि उनीहरुलाई २ मिनेट हिँड्न लगाइयो, उनीहरुको मस्तिष्कमा रगत सञ्चार बढेको देखियो ।

मस्तिष्कका कोशिकाहरूलाई अक्सिजन तथा पोषक तत्वको आवश्यक हुन्छ, जुन मस्तिष्कलाई रक्त सञ्चारबाट नै प्राप्त हुन्छ । मस्तिष्कमा राम्रोसँग रक्त सञ्चार हुनु शरीरका लागि पनि अत्यन्त आवश्यक हुन्छ । एकै ठाउँमा बसेर काम गरिरहँदा यो सबै प्रक्रियामा समस्या आउने उक्त अध्ययनले निष्कर्ष निकालेको हो । तर, प्रत्येक आधा घण्टामा उठेर दुई मिनेटका लागि टहल्ने व्यक्तिहरुमा चाहिँ यस्तो समस्या पाइएको छैन ।

रगतको प्रवाहमा समस्या देखिँदा सोचने तथा सम्झने शक्तिमा कमी आउने, मस्तिष्कसँग सम्बन्धित अन्य समस्या, स्पाइनल कर्डमा समस्या तथा एकै ठाउँमा बसिरहदा ढाड, खुट्टा तथा मुटुमा पनि देखिन सकिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

यस विषयमा पहिले पनि निकै धेरै अध्ययन गरिएका थिए । योभन्दा पहिले मानिसबाहेकका अन्य जनावरमा पनि यसबारे अध्ययन गरिएको थियो । त्यसबाट पनि एकै ठाउँमा बस्दा शरीरमा विभिन्न समस्या हुनसक्ने निष्कर्षहरू निस्किएका थिए ।

Loading...