fbpx

चिलीमा नयाँ संविधानका लागि जनमत संग्रह हुने

चिली, ३० कात्तिक । चिलीमा नयाँ संविधानका लागि जनमत संग्रह हुने भएको छ । नयाँ संविधान निर्माणका लागि जनमत संग्रह हुने भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

चिलीमा नयाँ संविधान र यसमार्फत राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहूँजसो प्रदर्शन गरिरहेका छन् । उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमत संग्रह गर्ने घोषणा गरेको हो ।

यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो । चिलीका पूर्वशासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमत संग्रहको माग प्रदर्शनकारीहरुले गरिरहेका छन् ।

sdf

यहाँको संविधान तथा सरकारले नागरिकका आधारभूत अधिकारहरु जस्तो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न नसकेको भन्दै दशौँ हजार नागरिकले प्रदर्शन जारी राखेका थिए । शुक्रबार आन्दोलनकारी र सरकारका तर्फबाट प्रतिनिधिहरुले वार्ता गरेका थिए । त्यस वार्ताका क्रममा उनीहरुले यो संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमत संग्रह गर्ने विषयमा सहमत भएका बताइएको हो ।

सरकारको वार्ता टोली र विपक्षी दलहरुका प्रतिनिधिहरुबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमत संग्रह गर्ने विषयमा सहमति भएको समाचारमा जनाइएको छ । चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको बताएका छन् । उनले यस सहमति बमोजिम चिलीमा नयाँ जनमत संग्रह हुनेछ र यसले पुरानो संविधानलाई नै जारी राख्ने कि अर्काे संविधान तयार पार्ने भन्ने बारेमा निर्णय दिने बताए ।

यसका साथै आगामी संविधानमा नागरिकका के कस्ता आधारभूत आवश्यकताका विषयहरु राख्ने भन्ने बारेमा पनि आगामी जनमत संग्रहले निर्णय गर्ने भएकोले प्रदर्शनकारीहरुले आफ्ना विरोध प्रदर्शनहरुलाई शुक्रबारदेखि नै स्थगित गरेका छन् । रासस

Loading...