fbpx

ब्राजिललाई हराउनु भनेको धेरै राम्रो हो : मेस्सी

एजेन्सी, ३० कात्तिक । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिललाई हराउनु धेरै राम्रो भएको बताएका छन् । ब्राजिलविरुद्धको सुपर क्लासिकोमा जित निकालेपछि बार्सिलोनाका स्टार मेस्सीले ब्राजिललाई हराउनु धेरै राम्रो भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत अर्जेन्टिनाले ब्राजिलविरुद्ध १–० गोलको जित निकाल्दा मेस्सीले निर्णायक गोल गरेका थिए । शुक्रबार राति साउदी अरेबियाको रियादमा भएको उक्त खेलमा अर्जेन्टिनालाई जिताउन मेस्सीले खेलको १४औं मिनेटमा गोल गरेका थिए ।

sad

मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए । सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए । मेस्सीले ७ वर्षपछि ब्राजिलविरुद्ध गोल गरेका हुन् । सन् २०१२ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोल गरेका मेस्सीले त्यसपछि पहिलोपटक ब्राजिलविरुद्ध गोल गरेका हुन् ।

उक्त खेलपछि पत्रकारसँग बोल्दै मेस्सीले भने, ‘यो प्रतिद्वन्द्वीता ठूलो हो र ब्राजिलविरुद्ध जित निकाल्नु धेरै राम्रो हो । जब तपाईं जित्नु हुन्छ, त्यहाँ तपाईंले उचित काम गर्नुहुन्छ । प्रशिक्षकको विचार मैदानमा दोस्रो तरिकाबाट अगाडि बढाउनु हो । र, जे कुरा आउँदैछ त्यसलाई सकारात्मक बनाउनु हो ।’

यसैगरी मेस्सीले अर्जेन्टिनाको डिफेन्सबाट राम्रो काम भएको बताए । ‘खेलमा रक्षात्मक लाइनले कठिन काम गरिरहेको थियो । यहाँ एक राम्रो टिमको अनुभूति छ ।’

अर्जेन्टिना र ब्राजिलले चार महिनापछि एक–अर्काविरुद्ध खेलेका थिए । ४६औं संस्करणको कोपा अमेरिकाको सेमिफाइनल खेलपछि ब्राजिल र अर्जेन्टिनाले पहिलोपटक प्रतिस्पर्धा गरेका हुन् । त्यसपछि तेस्रो स्थानका लागि भएको खेल खेलेका मेस्सी ब्राजिलविरुद्धको खेलबाट नै अर्जेन्टिनाको टोलीमा फर्किएका थिए ।

कोपा अमेरिकाका दौरान आयोजकलाई भ्रष्ट भएको भन्दै अभिव्यक्ति दिएका कारण मेस्सीमाथि कन्मेबलले ३ महिनाका लागि प्रतिबन्ध लगाएको थियो । कोपाले तीन महिना अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएपछि उनले चिली, मेक्सिको, जर्मनी र इक्वाडरविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए । ब्राजिलमा भएको कोपा अमेरिकामा ब्राजिलसँग अर्जेन्टिनाले २–० गोलको हार ब्यहोरेको थियो ।

Loading...